सांसद केसीको निधनमा पोखरा महानगरको सेवा बन्द

कास्की । प्रतिनिधिसभाका सदस्य एवम् तत्कालीन पोखरा नगर पञ्चायतका प्रमुख सूर्यबहादुर केसीको निधन भएपछि उनको सम्मानमा आज पोखरा महानगरको सेवा बन्द गरिएको छ ।

महानगरपालिकाले एक विज्ञप्ति जारी गरी स्व. केसीका सम्मानमा महानगर नगर कार्यपालिका कार्यालय र सबै वडा कार्यालय बन्द रहने जनाएको छ । विज्ञप्तिमा केसीको निधनले महानगरपालिकालाई स्तब्ध बनाएको र प्रतिष्ठित उद्योगीका रुपमा परिचित उनले पोखराको विकासमा पुर्याएकाे योगदानलाई सदा स्मरण गरिने उल्लेख छ ।

नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका सांसद केसीको यही कात्तिक १७ गते राति १०:३० बजे ६३ वर्षका उमेरमा आफ्नै निवास मुस्ताङ चोकमा निधन भएको थियो । सांसद केसी पोखराका प्रतिष्ठित उद्योगी समेत रहेका थिए । रासस

प्रतिक्रिया