चेपाङमा न कोरोनाको डर, न मास्ककाे प्रयोग

  • ध्रुवराज खनाल

चितवन । कोरोना संक्रमणको प्रभाव चितवनमा बढ्दो क्रममा छ । जिल्लामा हाल सम्म ५ हजार ३ सय भन्दा बढीमा संक्रमण देखिसकेको छ । तराई र पहाड मिलेको यो जिल्लाका पहाडी क्षेत्रका स्थानीयलाई कोरोना बारे खासै राम्रो ज्ञान छैन । पहाडी भेगमा कोरोना सर्दैन भन्नेमा उनिहरु बिश्वस्त छन् । यहाँ मान्छेहरुको आवतजावत कमै मात्रामा हुन्छ ।

जिल्लाको तराई भेगमा कोरोनाले सताइ रहेका बेला पहाडि भेगमा भने खासै प्रभाव देखिएको पनि छैन । पहाडी भेग चेपाङ समुदायको बाहुल्यता रहेको ठाउँ हो । चेपाङपछि तामाङ, दलित समुदाय यहाँ बस्छन् । जिल्लाको इच्छाकामना गाउँपालिका १ का सुर्यचन्द्र चेपाङ कोरोना बारे अलिअली जानकारी भए पनि मास्क ,सेनिटाइजर प्रयोग भने गर्दैनन् ।

‘आफ्नो ठाँउ तिर कोरोना लागेको थाहा छैन । यसबाट बच्न मास्क लगाउनु पर्छ भन्ने सुनिएको छ तर बिर्सने गर्दा प्राय लगाइँदैन ’ सुर्यचन्द्रले भने । आफूसँग अरुले दिएको एक दुई थान मास्क रहेको उनले सुनाए ।

पहाडमा घरहरु टाढा टाढा हुने हुँदा मान्छेहरुको भेट पनि पातलो नै हुन्छ । सोही वडाको सिराइचुलिका चन्द्र बहादुर चेपाङ काममा हतारो हुने हुँदा यहाँका स्थानीयले मास्क प्रयोग खासै नगर्ने गरेको बताउँछन् । कोरोना पछिको अवस्थाले ज्यालामजदुरीको काम रोकिएको बताउने चन्द्रबहादुरले कोरोनाबारे जानकारी भएको भन्दै पहाडमा भने खासै मास्क प्रयोग नगरेको सुनाए । रिपोर्टिङ क्रममा हामी पुग्दा सोही ठाउँकि सानुमाया चेपाङ भने मास्क लगाएको अवस्थामा भेटिइन् ।

गाउँमा कोरोना त कसैलाई लागेको छैन सानुमायाले भनिन्- ‘यो रोग सर्छ भनेर भिडभाडमा जाँदा मास्क लगाउने गरेको छु ।’ एफएम रेडियोमा सुनेको भएर चैतदेखि नै मास्क लगाएको उनले बताइन् । स्थानीय ललिमन चेपाङ घरमा आफैँ सम्झाउने अभिभावक भए पनि मास्क प्रयोग गर्न बिर्सने गरेको बताउँछन् ।

जिल्लाको इच्छाकामना गाउँपालिकाको सबै वडा,कालिका नगरपालिकाकाको ९, १० र ११ तथा राप्ति नगरपालिकाको १०, ११, १२ र १३ नम्बर वार्ड पहाडी भेगमा पर्छ । पहाडको कुनै कुनै ठाउँमा पुग्न ६/७ घन्टा सम्म हिँड्नुपर्ने बाध्यता छ । हालसम्म जिल्लामा एक जना चेपाङको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । राप्ती ११ का क्यान्सर रोगबाट पिडित उनलाई अस्पतालबाटै कोरोना संक्रमण भएको थियो ।

प्रतिक्रिया