‘केपी ओलीकाे ठाउँमा प्रचण्ड, देउवा ल्याए पनि देशले संकटबाट निकास पाउँदैन !’

काठमाडाैं । राप्रपा अध्यक्ष एवम् पूर्व परराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाउँमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा ल्याएर देशले निकास नपाउने दाबी गरेका छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै यस्ताे बताएका हुन् । नेकपाकाे ठाउँमा कांग्रेस वा अन्य कुनै दललाई स्थापित गरेर पनि देशले संकटबाट निकास नपाउने उनकाे भनाइ छ । समस्याकाे चक्रब्युबाट देशलाई मुक्त तुल्याउन मार्गचित्र/अवधारणामा सुधार नगरेसम्म कस्मेटिक परिवर्तनकाे कुनै अर्थ नरहने पनि उनले बताएका छन् ।
यस्तै उनले नेपाली जनताले राजनीतिक मार्गचित्र र गन्तव्यका बारे पुनर्विचार गर्नु जरूरी रहेकाे पनि ट्विटरमा उल्लेख गरेका छन् । सरकार माथि अर्को छीमेकी चिनको भरोसा पनि धर्मराएको उनकाे ठहर छ ।
‘धर्मनिरपेक्षता,गणतन्त्र र संघियताको विकल्प खोज्ने वा उल्लेखित मान्यताबारे जनताको प्रत्यक्ष अभिमत बुझ्न जनमत संग्रहमा गर्नेबारे अब राष्ट्रिय बहस प्रारम्भ गरिनुपर्छ । परराष्ट्र नीति संचालनमा असन्तुलन देखिएको छ, ’ उनले लेखेका छन्- ‘नेकपा नेतृत्वको सरकारसँग भारत संवादहीन अवस्थामा पुगेको छ भने सरकार माथि अर्को छिमेकी चीनको भरोसा पनि धर्मराएको छ । भ्रष्टाचारदेखि राज्यसत्ता कब्जा गर्ने कार्यमा सत्तारुढ र प्रमुख प्रतिपक्ष दल दुवैले साझेदारी र भागबण्डा कायम गरेका छन् ।’










