ब्रिटिश गोर्खा अधिकारवादी नेता गजेन्द्र इस्वोको निधन

धरान । कोरोना संक्रमणका कारण भूपू ब्रिटिश गोर्खा सैनिकहरुको अधिकारवादी नेता तथा सामाजिक, राजनीतिक अभियन्ता गजेन्द्र इस्वोको निधन भएको छ । धरान-१५ निवासी इस्वोको कोरोना उपचारको क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा आज बिहान ३ बजे निधन भएको हो ।

छालाको क्यान्सरको उपचार गराइरहेका इस्वो सुगरको पनि विरामी थिए । उनलाई पछिल्लो समय कोरोना संक्रमण भएको थियो । पछिल्लो समय समाजवादी पार्टीमा रहेर राजनीतिमा समेत सक्रिय इस्वोले नेपालमा भएको भूपू गोर्खा सैनिकहरुको आन्दोलनलाई उचाईमा पुर्याएका थिए । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) मार्फत बेलायत सरकारको असमान व्यवहारका विरुद्ध आन्दोलन अगाडी बढाउन इस्वोले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

धरानबासी खासगरी भूतपूर्व ब्रिटिस गोर्खा समुदायलाई धरानको विकास र समाजसेवामा सक्रिय गराउन इस्वोले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । आदिबासी जनजातिहरुको पहिचान र राजनैतिक अधिकारकोलागि चलेको आन्दोलनमा पनि उनको महत्वपूर्ण भूमिका थियो । जनता समाजवादी पार्टीको लिम्बुवान राष्ट्रिय प्रदेश समितिको उपाध्यक्ष समेत रहेका इस्वो धरान उपमहानगरपालिकाको मेयरको उपनिर्वाचनमा समाजवादी पार्टीबाट मेयरको उम्मेदवार भएका थिए ।

खासगरी सेवा निवृत्त भएर बेलायतबाट नेपाल फर्किएका भूपू गोर्खाहरुलाई संगठित गर्दै उनीहरुको सिप, दक्षता र आर्थिक स्रोतलाई धरानको विकास तथा भूपू गोर्खाहरुलाई आर्थिक क्षेत्रमा सक्रिय गराउन उनको योगदान थियो । उनले भुपु सैनिकहरुको गेसो, सहकारी, गोर्खा कम्प्लेक्स, गोर्खा पार्कको स्थापना र सञ्चालनको नेतृत्व गरेका थिए । इस्वो किरात याक्थुङ चुम्लुङका पुर्ब केन्द्रीय सचिब तथा बर्तमान केन्द्रीय सल्लाहकार समेत थिए ।

प्रतिक्रिया