स्वास्थ्यमन्त्री ढकालविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

काठमाडौं । स्वास्थ्य मन्त्री भानुभक्त ढकालविरुद्ध अदालतको अवहेलना गरेको मुद्दा दर्ता भएको छ । सर्वोच्च अदालतले कोरोनाको उपचार निःशूल्क गर्न आदेश गरे पनि स्वास्थ्य मन्त्री ढकालले कार्यान्वयन नगरेको भन्दै निवेदन दर्ता भएको हो ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री ढकालविरुद्ध रिट दायर भएको थियो । प्रधानमन्त्री ओलीको नाम हटाएर श्वास्थ्यमन्त्री ढकालविरुद्ध मात्रै मुद्धा दर्ता भएको छ । अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले सर्वोच्च अदालतले कोरोनाको उपचार निःशूल्क गर्न आदेश गरेपनि उल्लंघन गरेको भन्दै निवेदन दिएका हुन् ।

सर्वोच्चले असोज १५ मा कोरोनासँग सम्बन्धित प्रवर्धनात्मक, प्रतिकारात्मक, निदानात्मक, उपचारात्मक र पुनर्स्थापनात्मक सबै कार्य निःशुल्क गर्न परमादेश जारी गरेको थियो ।

तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कात्तिक २ मा मन्त्रिपरिषद्को १९ असोजको निर्णयअनुसार भन्दै बिपन्न, असहाय, अति अपाङ्गगता भएका, ७० वर्ष नाघेका जेष्ठ नागरिक र फ्रन्टलाइनरमा लक्षण भए परीक्षण र उपचार निःशुल्क गर्ने अरुले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय गरेको थियो । त्यसअनुसार अहिले सरकारी अस्पतालहरुले समेत धमाधम धरौटी रकम जम्मा गराउन थालेका छन् ।

यसले सर्वोच्चको परमादेश उल्लंघन भएको भन्दै रिटमा स्वास्थ्यमन्त्रीलाई अदालतको अवहेलनामा अधिकतम एक वर्ष कैद र १० हजार जरिवाना गर्न माग गरिएको छ । साथै १५ असोजको परमादेश तुरुन्त कार्यान्वयनका लागि आदेश दिन माग गरिएको छ ।

प्रतिक्रिया