प्रचण्डको ब्रिफिङ – ‘प्रधानमन्त्रीले सँगै बस्न नसक्ने भए आ–आफ्नो बाटो लागौं भन्नुभयो’

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुमलटार बैठकमा पार्टी फुटको नजिक पुगेको ब्रिफिङ गरेका छन् ।

अध्यक्ष प्रचण्डको निवास खुमलटारमा आइतबार बिहान ११ बजे बसेको बैठकमा अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् । बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापा उपस्थित थिए ।

बैठकमा सहभागी एक नेताका अनुसार अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको मनशाय पार्टी अलगअलग जाने भन्ने रहेको ब्रिफिङ गरेको बताए । उनले भने,“प्रधानमन्त्रीले अब सँगै बस्न सकिन्न, बैठकको पनि काम छैन,’ प्रचण्डको भनाइ उदृत गर्दै छलफलमा सहभागी एक नेताले मकालुखबरलाई जानकारी दिँदै भने, ‘तपाईंहरू आफ्नो तरिकाले जानुस्, मलाई मेरै तरिकाले अघि बढ्न दिनुस भनेर ओलीले भन्नुभयो ।’

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच शनिवार दिउँसो १ बजे बालुवाटारमा भेटवार्ता भएको थियो । छलफलमा प्रधानमन्त्रीले निर्णय सबै मान्नुपर्छ भन्ने पनि छैन, पार्टी अब अलगअलग जाने हो भनेपछि तिक्तता बढेको थियो ।

स्रोतका अनुसार बैठकमा सहभागी नेताहरूले पार्टी फुटाउनुहुँदैन भनेर जोड दिएको बताइएको छ । पार्टीको निर्णय सबैले मान्नुपर्ने र पार्टी एकता बचाउनुपर्ने दायित्व सबैले लिनुपर्ने धारणा राखेको सचिवालय सदस्यले बताएका छन् ।

 

प्रतिक्रिया