धरानका कांग्रेस नेता भुपेन्द्र भट्टराईसहित ५ जना जुवा खालबाट पक्राउ

- भरतराज शर्मा (गोपाल)
सुनसरी । धरान-६ मा स्थानीय चुनावमा नेपाली काँग्रेसबाट अध्यक्षको उम्मेदवारमा उठेका ६० वर्षीय भुपेन्द्र भट्टराईसहित ५ जना जुवाडे पक्राउ परेका छन् । मोरङको केराबारी गाउँपालिका-६ बाट जुवा तास खेलिरहेको अवस्थामा पक्राउ परेका ५ जनालाई मोरङ प्रहरीले आज (आइतबार) सार्वजनिक गरेकाे हाे ।
विशेष सूचनाको आधारमा १ नं प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङले हिजो शनिबार साँझ साढे ५ बजे छापा मारेर उनीहरुलाई पक्राउ गरेको थियो । मोरङ प्रहरी प्रवक्ता एवम् डिएसपी मानबहादुर राईका अनुसार पक्राउ पर्नेमा केराबारी-६ मा कालिज फर्म सञ्चालक रहेका धरान-६ का ६० बर्षीय भुपेन्द्र भट्टराई र ४३ वर्षीय बोधराज मगर रहेका छन् ।
यस्तै, धरान-१५ का ३६ बर्षीय अरुण केसी, धरान-६ का ३६ बर्षीय हरि खत्री र धरान १५ का ३८ बर्षीय शैलेस भुजेल पनि पक्राउ परेका छन् । उनीहरुलाई केराबारी-६ स्थित भुपेन्द्र भट्टराईको कालिज फर्मबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका नेता भट्टराई २०७४ सालको स्थानीय तह निर्वाचनमा धरान वडा नं-६ मा वडाअध्यक्ष पदमा नेपाली कांग्रेसबाट पराजित उम्मेदवार हुन् । उनले करिब डेढ बर्षदेखि केराबारीमा कालिज फर्म पनि सञ्चालन गरिरहेका थिए । तर, फर्ममा लकडाउनको समयदेखि जुवा तास खेलाइरहेको पाइएकाे छ ।
जुवाडेहरुको साथबाट ८ लाख ८९ हजार २ सय ५० रुपैयाँ, १३ बुक तास बरामद भएको प्रहरीले जनाएको छ । यस्तै २ थान स्कुटी र २ थान मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।








