२९ रोपनी सरकारी जग्गाभित्रको २ पैसामा व्यक्तिको स्वामित्व दावी, पुनर्निर्माणमा समस्या

काठमाडाैं । २ पैसा जग्गा र त्यसमा बनेको २ तले घरमा व्यक्तिले स्वामित्व दावी गरेपछि थापाथली कालमोचन घाट क्षेत्र पुननिर्माणमा समस्या आएको छ ।
काठमाडौंको थापाथली पुलको मुखैमा यो घर छ । पुननिर्माणका क्रममा घरको काम त्यही घरमा पुगेपछि खन्ने क्रममा जगको तल्लो भागमा चिल्ला ढुङ्गाको स्तम्भजस्तो आकार र त्यसमाथि परम्परागत संरचनामा प्रयोग गरिने बुट्टासहित इँटाको पर्खाल छ । त्यसमाथि काठ, इँटा र सिमेन्ट प्रयोग गरेर बनाइएको २ तले घर छ । यो घरको स्वामित्व आफूसँग भएको दावी गर्दै एक व्यक्तिले लालपूर्जासहित स्वामित्व दावी गरिरहेको वडा ११ का अध्यक्ष हीरालाल तण्डुकारले जानकारी दिए ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको बागमती नदी किनार सुधार परियोजनाअन्तर्गत काम गर्ने क्रममा व्यक्तिले दावी गरेको संरचनामा पुगेपछि काम रोकिने अवस्थामा आएको छ ।
समस्याको समाधान खोज्न आइतबार बिहान वडा ११ का वडाध्यक्ष हीरालाल तण्डुकार, गुठी संस्थानका उपप्रशासक सरोज थपलिया, पुरातत्व बिभागका पुरातत्व अधिकृत मञ्जुसिंह भण्डारी, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका इञ्जिनियर असिम अधिकारी र परामर्शदातासहितका अधिकारी भेला भएर स्थलगत अवलोकन गरेका थिए ।
‘यो संरचना व्यक्तिको हुने कुनै आधार देखिँदैन । थापाथली पुल बनाउँदा पुलको आकर्षण बढाउन बनाइएको स्तम्भको जगमा घर बनाइएको देखिन्छ । त्यो स्तम्भमा सिंहका मूर्ति राखिएको हुनुपर्छ,’ अवलाेकनका क्रममा वडाध्यक्ष हीरालाल तण्डुकारले भने, ‘स्तम्भ कहिले भत्कियो र किन सम्भार गरिएन भन्नेचाहिँ खोजीको विषय हो ।’
गुठी संस्थानका उप प्रशासनक थपलियाका अनुसार यो ठाउँको १८८ नम्बरको एउटै कित्तामा २९ रोपनी जग्गा छ । त्यहाँ बैरागी र सन्यासी लगायतका अखडा छन् । त्यसमध्येको २ पैसा जग्गामा बनेको घरसहित व्यक्तिले लालपूर्जा लिएर दावी स्वामित्व दावी गरेको छ । मालपोत ऐन दफा २४ बमोजिम दर्ता वदर गरेर गुठीको श्रेस्तामा देखिए गुठीको नाममा र स्रेस्तामा नदेखिए सार्वजनिक जग्गाका रुपमा कायम गराउने प्रक्रियामा जानुपर्छ । काम रोक्नु हुँदैन ।
गुठी संस्थान शाखा कार्यालयका प्रमुख हरिप्रसाद सुवेदी भन्छन्, ‘हामी गुठीको जग्गा भन्छौँ । व्यक्तिले लालपूर्जा लिएर स्वामित्व दावी गर्नुहुन्छ । व्यक्तिमा स्वामित्व कसरी पुग्यो, खोजी गरिरहेका छौँ ।’
पुरातत्व अधिकृत मञ्जुसिंह भण्डारीका अनुसार, ‘यो घरको जगमा भएको संरचनामा प्रयोग गरिएका निर्माण सामाग्री हेर्दा व्यक्तिगत संरचनाको स्वरुप देखिँदैन । आवश्यक परे यसलाई उत्खनन गरेर अध्ययन गर्न पनि हामी तयार छौँ ।’
जगमा कुँदेका ढुङ्गाको पर्खाल छ त्यसमाथि दचि अपा (मौलिक इटा/स्मारक र सार्वजनिक संरचनामा धेरै प्रयोग हुने) को गारो छ । त्यो गारोको माथिल्लो भागमा पलि फोँ (बुट्टेदार इटा) राखिएको छ । सामान्यतया व्यक्तिगत वा आवासीय घर निर्माणमा यस्ता सामाग्रीको प्रयोग हुँदैन । अझ यो त सम्पदा क्षेत्र हो । यी निर्माण सामाग्री हेरेर व्यक्तिको घर हो भन्न नसकिने पुरातत्व अधिकृत भण्डारीकाे भनाइ छ ।
थापाथलीदेखि टेकुदोभानसम्म एशियन विकास बैङ्कको सहयोगमा ३ चरमा नदी सुधार परियोजना सञ्चालन भइरहेको छ । परियोजनाको पहिलो चरणमा टेकुदोभानदेखि टेकु पुलसम्म, दोस्रो चरणमा टेकु पुलदेखि टुकुचा बागमती दोभानसम्म र तेस्रो चरणमा टुकुचादेखि थापाथली पुलसम्मको खण्डमा पर्ने सम्पदा पुननिर्माण तथा मर्मत सम्भार र नदी क्षेत्रको सुन्दरता बढाउन पूर्वाधार बनाइनेछ । परियोजनाको पहिलो चरणमा १२ वटा सम्पदा पुननिर्माणसहितको काम करीब सम्पन्न हुने अवस्थामा पुगेको छ । दोस्रो चरणको काम थालिएको छ । यस चरणमा ११ वटा सम्पदा पुननिर्माण हुनेछन् ।
पुरातत्व अधिकृत भण्डारीकाअनुसार तेस्रो चरणमा थापाथली कालमोचन क्षेत्रका बैरागी अखडा, सन्यासी अखडासहितका ४ वटा सम्पदा पुननिर्माण भइरहेका छन् । पहिलो चरणको काम करीब ३७ करोड रुपैयाँ, दोस्रो चरणको काम करीब ४० करोड रुपैयाँ र तेस्रो चरणको काम करीब ३५ करोड रुपैयाँ लागतमा अघि बढेको हो ।
परियोजनालाई नियमित अघि बढाउन समन्वय गरिरहेका छौं । वडाका उपनिर्देशक रामप्रसाद पौडेल भन्छन्, ‘सम्पदा क्षेत्रभित्र व्यक्तिको स्वामित्व दावी भएको अवस्थाबाट काम रोकिने अवस्था आउन दिँदैनौँ । कानुनी र व्यवहारिक दुवै विधिको उपयोग गरेर समस्याको समाधान गर्छौं ।’








