‘कोभिड अस्पतालको अस्तव्यस्तताको जिम्मेवार को हो ? कतै नेतृत्वमा समस्या छ की ?’

धरान । बि पि प्रतिष्ठान दबाब समुहले प्रतिष्ठान सुधार्न विभिन्न सल्लाह सुझाब सहित आज मागपत्र बुझाउँदैछ । धरानस्थित बि पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति र उनका स्वकीय सचिव दिलिप भट्टराईको चलखेलले कोरोना हस्पिटलमा बाँच्न सक्ने अवस्थाका विरामी समेत मृत्युवण गर्न थालेपछि धरानबासी जागरुक भएका हुन् ।

धरानबासीले एक साता अघि वीपी प्रतिष्ठान दबाब समुह नै गठन गरेर नेतृत्वमै समस्या रहेको पो हो कि भन्दै प्रश्न समेत उठाएका छन् । धरानमा सर्वपक्षिय भेला गरेर बर्तमान अवस्थाको यथार्थ चित्रण सहितको प्रतिवेदन नै सार्वजनिक गर्न माग गरिएको छ । ‘कोभिड अस्पतालको अस्तव्यस्तताको जिम्मेवार को हो ? कतै नेतृत्वमा समस्या छ की ?’ भन्दै समुहले नेतृत्वमा समेत पुर्नविचार गरियोस् समेत भनेको छ ।

यस्तै समुहले कोभिड अस्पताल सञ्चालनमा विभिन्न सुझब दिएको छ । प्रतिष्ठानको लक्ष्य, प्रतिष्ठानलाई उत्कृष्ठ बनाउन गर्नुपर्ने काम, आत्मनिर्भर कसरी हुने ?, अनुत्पादक क्षेत्रको खर्च नियन्त्रण, विधि, ऐन र नियम पालना र पारदर्शितामा जोड दिएको छ । उल्लेखित अवधारणा पत्र आज प्रतिष्ठानका उपकुलपतिलाई बुझाउने कार्यक्रम रहेको छ ।

  • बि पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुसञ्चालनको अवधारणा-पत्र

१. पृष्ठभूमिः

सन् १९९३ मा जन्मिएको यस प्रतिष्ठानले २७ वर्षे आफ्नो जीवनकालमा धेरै आरोह-अवरोह पार गरेको छ । आयोजना अवधि रहँदासम्मको आर्थिक खुकुलोपन समयको यो अन्तरालमा कसिँदै गएको कुरा सर्वविदितै छ । आर्थिक सवलता कुनै पनि संस्थाको सफलताको एक महत्वपूर्ण अङ्ग हो । यद्यपि प्रतिष्ठानको लक्ष्य हासिलगर्ने कुरामा आर्थिक पक्ष बाहेक अन्य विषयहरुले पनि उत्तिकै महत्व राख्दछन् । स्वास्थ्य विज्ञान प्रतिष्ठानले मुख्यतया ३ प्रकारका कामहरु गर्नुपर्दछ¸ जो यसले निरन्तर गर्दै आएको देखिएको पनि छः- पठन-पाठन सम्बन्धी काम¸ उपचार सम्बन्धी काम¸ र अनुसन्धान सम्बन्धी काम । बजारमुखी आजको परिवेशमा¸ विश्व बजारमा यस्ता प्रतिष्ठानले पस्कने Franchise भनेकै यी माथिका कामहरु हुन्¸ जसका आधारमा यस्ता प्रतिष्ठानको नाम वा ख्याति तौलिने गरिन्छन् । कस्ता विद्यार्थीहरु हामी उत्पादन गर्दैछौँ¸ कुन Protocol को उपचार हामी प्रदान गर्दैछौँ र कुन कुन क्षेत्रमा हाम्रा अनुसन्धानहरुले नयाँ ढोका उघार्दैछन्¸ भन्ने जस्ता प्रश्नको जवाफ हाम्रो प्रतिष्ठानले छाती फुकाएर र शिर उठाएर विश्व बजारमा दिने हैसियत राख्छ भनेमात्र हाम्रो नाम र ख्याति संसारभर फैलिनसक्छ । तसर्थ बि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुसञ्चालनको सैद्धान्तिक लक्ष्य Franchise ले यही उत्कृष्टता हासिल गर्नु नै हुनुपर्दछ भन्ने हामीलाई लागेको छ ।
उत्कृष्ट प्रतिष्ठान¸ हाम्रो शान ।

२. प्रतिष्ठानको अन्तिम लक्ष्य के हो ?

अब यो प्रतिष्ठान एउटा विश्वविद्यालय बन्नुपर्छ । बि.पि.कोइराला स्वास्थ्य विज्ञान विश्वविद्यालय हुनुपर्छ यो प्रतिष्ठान ।
बाबुको हैसियत पाउनु र बाबु हुनुमा फरक हुन्छ । छुट्टै विश्वविद्यालयका रुपमा संगठित हुन आवश्यक पर्ने कानुन तथा ऐनको निर्माण गराई यस प्रतिष्ठानलाई चाँडो भन्दा चाँडो विश्वविद्यालय बनाउन लबिङ प्रारम्भ गर्नुपर्दछ ।

३. प्रतिष्ठानलाई उत्कृष्ट बनाउन के के गर्नुपर्छ ?

कुनै जादुको छडीले छोएर उत्कृष्ट बन्ने सपना पूरा हुँदैन । त्यसका लागि काम गर्नुपर्छ । त्यो पनि योजनावद्ध र नियन्त्रित ढाँचामा रणनीतिक ढंगले साना साना लक्ष्यहरु किटान गर्दै काम गर्ने Roadmap तयार गरेर । व्यवस्थापनका PERT र CPM जस्ता जुक्तिहरु प्रयोग गरेर अघि बढ्नुपर्छ । बुँदागत रुपमा भन्नुपर्दा प्रतिष्ठानले उत्कृष्टता हासिल गर्न निम्न अनुसारका कामहरु प्रति प्रतिवद्ध भएर अघिबढ्नु पर्दछः-

क. TQM अर्थात Zero defect :- Total Quality Management का सिद्धान्तहरुको अवलम्बन गरी निरन्तर सुधार¸ शून्य त्रुटि अर्थात त्रुटिरहित उपलब्धि¸ सहभागितामूलक व्यवस्थापन¸ उच्च गुणस्तरको पालना¸ अनुशासित नियन्त्रण¸ समन्वयात्मकता जस्ता कुरामा प्रतिवद्ध हुनु जरुरी छ ।

ख. आफ्नै स्रोतमा उभिने क्षमताः- प्रतिष्ठानसंग प्रशस्त संभावनाहरु छन् जस्का बलमा प्रतिष्ठानले पर्याप्त आय आर्जन गर्न सक्छ । अर्काको मुख ताक्नु नपर्ने र आफ्नै खुट्टामा उभिएर आत्मनिर्भर बन्ने योजना बनाउनु पर्छ । त्यसकालागि संभाव्यता अध्ययनको एउटा प्राविधिक कार्य सम्पन्न गर्नुपर्छ । सामुदायिक साझेदारी¸ विशिष्ट सेवा¸ आर्थिक अनुशासन¸ पारदर्शिता¸ आयवृद्धि र खर्च कटौति जस्ता काम उदाहरणका लागि भन्न सकिन्छ । यसको वृहत्ताकार व्याख्या गरेर कार्यान्वयनमा जानुपर्दछ । तत्काल संभाव्यता अध्ययन टोली निर्माण गरिनु पर्दछ ।

ग. प्राप्त ख्यातिको बृद्धिः- आज विश्वसामु एक परिचित र ख्यातिप्राप्त संस्थाका रुपमा उभिएको छ यो प्रतिष्ठान । यसले कमाएको यो नामलाई रक्षागर्दै यसको श्रीवृद्धिका लागि थप काम गर्नुपर्दछ । राष्ट्रिय र अन्ताराष्ट्रिय जगतमा फैलिएको यसको ख्यातिलाई अभिवृद्धि गर्ने भनेको यसको काम र योगदानले नै हो¸ तसर्थ त्यसमा निपुणताको प्रयास हाम्रो मुख्य ध्येय हुनुपर्दछ ।

घ. लागत प्रभावकारिता र खर्च नियन्त्रणः- हामीले थाहै नपाई हाम्रो आम्दानिको एउटा ठूलो हिस्सा अनुत्पादक क्षेत्रमा चुहिएर गइरहेको हुन्छ । त्यसको नियन्त्रण गर्न सकियो भने लागत प्रभावकारिता हासिल हुन सक्छ । कमजोर बिन्दूहरु र चुहिने प्वालहरुको पहिचान गरी खर्च नियन्त्रण तथा लागत प्रभावकारिता प्राप्त गर्नु पर्दछ । त्यसकालागि विज्ञ सम्मिलित एक समूह गठन गरी निर्देशिका तयार गराइनु पर्दछ ।

ङ. क्षमता विकासः- हाम्रो कार्यलाई उच्च गुणस्तरको पार्न हामीसंग भएका साधन (मानवीय र गैह्र मानवीय) को गुणस्तर उच्च हुनु जरुरीछ । रुग्ण सामग्री र कमसल जनशक्तिका बलमा राम्रो उपलब्धिको सपना देख्नु हुदैन । तसर्थ उपलब्ध साधनको क्षमता विकास नै उत्कृष्टता प्राप्तिको अनिवार्य आधार हो । यसकालागि उच्चस्तरीय वैशिष्ट्य विभागहरुमा जोड दिनु जरुरी छ । आफुसंग भएका साधनको क्षमता वृद्धि र चालु हालतमा नरहेका साधनको मर्मत संभार अविलम्ब गरिनु पर्दछ । अक्सिजन प्लाण्ट¸ भेण्टिलेटर¸ सिटि स्क्यान र डायलासिस मेसिन आदि ।

च. रुल अफ लः- विधि¸ ऐन तथा नियमको परिधि भित्र रहेर काम गर्ने बानीले संस्थाको अनुशासन मजबूत पार्छ । अनुशासन मजबूत भएमात्र कामदार तथा कर्मचारीको मनोबल उच्च हुन्छ । उच्च मनोबल भएका व्यक्तिबाट मात्र उच्चकोटिको उपलब्धि हासिल गर्न सकिन्छ । त्यसैले एक अर्कामा अन्योन्याश्रित भएर रहेका यी तमाम तत्वहरुको जड भनेको विधिको शासन हो । प्रतिष्ठानको उत्कृष्टता हासिल गर्ने अभियानको एउटा प्रमुख कडी हो विधिको शासन । यसको परिपालन शून्य सहनशीलताका आधारमा गरिनु पर्दछ । नियम पालन नगर्नेलाई कडा कारबाही गरिनु पर्दछ ।

छ. पारदर्शिताः- जुन संस्थाका तमाम कार्यहरु पारदर्शी हुदैनन् त्यसको सफलतामा पनि र असफलतामा पनि धेरै शङ्का उपशङ्काहरु देखापर्दछन् । त्यसैले प्रतिष्ठानका सबै गतिविधिहरु पारदर्शी बनाएर मात्र यसलाई उत्कृष्ट बनाउन सकिन्छ । आम नागरिकको विश्वास जित्न र आफूले पूरा गरेको दायित्व प्रति सन्तुष्ट हुन पनि पारदर्शिता अनिवार्य हुन्छ । आजसम्म यस प्रतिष्ठानका विरुद्ध जे जति अफवाहहरु बाहिर आएका छन् ती सबैको पछाडिका कारण भनेको अपारदर्शिता नै हो । खरीदमा¸ टेण्डरमा¸ निर्माणमा¸ नियुक्तिमा¸ विद्यार्थी भर्नामा¸ आपूर्तिमा जे जे मा कुरा आए पनि पारदर्शिता प्रमुख विषय भएर आएको देखिएको छ । पारदर्शी बन्न प्रतिष्ठान भित्र अधिकार सम्पन्न एक अनुगमन इकाइको आवश्यकता छ । र सोही इकाइ मार्फत वार्षिक रुपमा सामाजिक लेखापरीक्षण गराउनु जरुरी छ ।

४. यी कार्यहरु कसरी सम्पन्न गर्ने र मूर्त बनाउने ?

क. Internal control system:- आन्तरिक नियन्त्रण प्रणालीको सवलीकरण । विद्यमान आन्तरिक नियन्त्रण प्रणालीलाई अझ सुदृढ पार्न अन्तरपदीय तथा अन्तर विभागीय सञ्जालको समन्वयात्मक ढाँचा निर्माण गर्नुपर्दछ । Check and balance को व्यवस्था स्थापित गर्नुपर्दछ । व्यवस्थापनलाई सबल बनाउन संगठनको Flow Chart लागु गर्नुपर्दछ । जसले गर्दा एक व्यक्ति दुईटा Boss प्रति उत्तरदायी होस् र कसको अधिकार के हो र दायित्व के हो प्रष्ट देखियोस् । भ्रष्टाचार मुक्त प्रतिष्ठान निर्माणमा यसले सहयोग पुर्‍याउँछ ।

ख. योजना र नियन्त्रणः- Budgetary Control लाई आर्थिक अनुशासनको मन्त्र बनाइनु पर्दछ । योजनावद्ध कृयाकलाप गर्न दीर्घकालीन¸ मध्यकालीन र अल्पकालीन योजनाहरु तयार गरी Vision र Mission हासिल गर्ने रणनीतिक बाटो तय गर्नुपर्दछ । योजना नबनाई काम नगर्ने अठोटले मात्र¸ कति अवधिमा हामी कहाँबाट कहाँ आइपुग्यौँ भन्ने चित्र प्रष्ट देखिन सक्छ । Chart हरुको प्रयोगले यसलाई Visionary पार्नुपर्छ । आम नागरिकले देखिने गरी यो चार्ट राखिनु पर्दछ ।

ग. Focus on weaknesses:- आफ्ना सवल पक्षमा मात्र केन्द्रित हुनु हुदैन । संस्थालाई अघि बढाउन कमजोरीहरु माथि केन्द्रित भएर समाधान तर्फ उन्मुख हुनुपर्दछ । हाम्रा गतिविधिहरु हामीले हासिल गरेका उपलब्धिहरुको बखान गर्न होइन कि हामी माथि आइपर्ने चुनौतिहरुको सामना गर्न तत्पर रहने हनुपर्दछ । आत्मसमीक्षाले हामीलाई गल्तिहरु नदोहोर्‍याउन मद्दत गर्ने भएकाले आवधिक समीक्षाको एउटा अनिवार्य कार्यतालिका तयार गरेर अघि बढ्नुपर्दछ ।

घ. अन्तरसम्बन्ध विभागः- प्रतिष्ठान भित्रको विभागीय अन्तरसम्बन्धले यसको गतिविधिलाई मजबूत पार्नुका साथै र एक आपसमा विश्वासको वातावरण सिर्जना गर्दछ भने प्रतिष्ठान बाहिर राष्ट्रिय तथा अन्ताराष्ट्रिय सम्बन्धको विकासले यसको पहिचानलाई विहंगम क्षितिज प्रदान गर्दछ । अतः त्यसकालागि एउटा विभाग वा जिम्मावाल निकायको स्थापना हुनु आवश्यक देखिन्छ । समाजका जिम्मेवार मानिस समेत सम्मिलित एउटा निकाय बनाएर आपसी समन्वय र समाजसंगको अन्तरसम्बन्ध मजबूत पार्न सकिन्छ ।

ङ. निरन्तर अनुगमनः- प्रतिष्ठान भित्रका कामहरु स्वचालित रुपमा सम्पन्न हुनुपर्दछ । काम नियमानुसार हुने गरेको वा नगरेको सम्बन्धमा नियमित अनुगमनको जरुरी पर्दछ । नातावाद र कृपावादबाट मुक्त प्रतिष्ठान निर्माण गर्न एक अधिकार सम्पन्न स्थायी अनुगमन समिति वा विभागको स्थापना आवश्यक छ ।

च. अनुशासन वा आचारसंहिताको परिपालनः- प्रतिष्ठानमा आवद्ध जुनसुकै पक्षले अनिवार्य रुपमा पालन गर्नैपर्ने आचारसंहिता छुट्टा छुट्टै निर्माण गरी लागु गर्नुपर्दछ । Carrot & Stick को सिद्धान्तले कामप्रतिको उत्प्रेरणा जागृत गराउँछ । कानुन बमोजिम गर्ने गराउने अवस्था सिर्जना हुनुपर्दछ । राम्रो काम गर्नेले पुरस्कृत हुने र नराम्रो काम गर्ने दण्डित हुने पारदर्शी व्यवस्था लागु गर्नुपर्दछ । Performance Evaluation का आधारमा यसलाई लागु गर्नुपर्दछ । प्रवेश नाका मै आगन्तुक¸ बिमारी¸ विद्यार्थी वा कर्मचारीको प्रवेशका समयमा कुनैपनि झोला वा निजी सामान लिएर प्रवेश नगर्ने र लिएर बाहिर नजाने अनुशासन जरुरी छ ।

छ. प्रशासन सुधार कार्य योजनाः- प्रशासन सुधार गर्न एउटा कार्य योजना (Action Plan) तत्काल लागु गर्नुपर्दछ । चुस्त प्रशासन¸ कम लागतमा उच्च कार्यसम्पादन गर्ने आधार हो । त्यसका लागि Right man in the right place हुनु जरुरीछ । Modification of personnel management and administration अनिवार्य छ ।

ज. कोभिड अस्पतालका सम्बन्धमाः- महामारीबाट बच्न निर्माण गरिएको १०० शैयाको भनिएको लेभल ३ अस्पतालका सम्बन्धमा जनगुनासाहरु व्यापक आएका छन् । प्रथमतः त्यहाँ बेड नै सयवटा छैनन्¸ अक्सिजन सेवा न्यून छ¸ भेण्टिलेटर पर्याप्त छैन र भएका पनि चालु अवस्थामा छैनन्¸ चिकीत्सकीय रेखदेख भिजिट शून्य बराबर छ¸ खानाको व्यवस्था पर्याप्त पनि छैन र समयमा पनि दिइदैन¸ सरसफाई बेहाल छ¸ शौचालय फोहोर छन्¸ बेडहरु गुणस्तरीय छैनन्¸ अर्थात समग्रमा कोभिड अस्पताल अस्तव्यस्त छ भन्ने गुनासाहरु त्यहाँ भर्ना भएर ज्यान गुमाएका घरका परिवारका सदस्यहरु तथा भर्ना भएर घर फर्किएका बिरामी स्वयंले गरेका छन् । ती जनगुनासाको सम्बोधनको अविलम्ब व्यवस्था गर्न के के गरिनु पर्दछ – हामी त्यसको तत्काल प्रत्याभूतिको माग गर्दछौं । ज्यानको जोखिम लिएर सेवा दिइरहेका कर्मचारी तथा स्वास्थ्यकर्मीलाई हेजार्ड बीमा र भत्ताको पर्याप्त व्यवस्था हुन नसकेको गुनासो छ । त्यसको अविलम्ब न्यायोचित व्यवस्था गरिनु पर्दछ ।

५. उपसंहारः-
बि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान एक प्रतिष्ठित तथा सक्षम संस्था हो¸ जसको नाम विश्वभरि परिचित छ । यसको सञ्चालनमा देखापरेका साना-मसिना समस्याहरुसंग संघर्षरत देखिने यो प्रतिष्ठानमा व्यवस्थापकीय विशेषज्ञताको सख्त खाँचो देखिएको छ । Vision → Mission → Goal → Objective → Strategy → Activity को एउटा चरणवद्ध श्रृंखला पूरागर्ने गतिमा प्रतिष्ठानका कृययाकलापहरु निर्देशित गराइनु पर्दछ । यसकालागि प्रष्ट नीति र योजना तर्जुमा आवश्यक हुन्छ¸ त्यो आवश्यकता अविलम्ब पूरा गरेर अघिबढ्नु पर्दछ भन्ने हाम्रो विश्वास छ।

  • हाम्रा सुझावहरुः

१ प्रतिष्ठानको सिनेटर संलग्न रहेको अधिकार सम्पन्न एक अनुगमन समितिको गठन गरियोस्
२ वर्तमान अवस्थाको यथार्थ चित्रण सहितको प्रतिवेदन सार्वजनिक गरियोस्
३ एक्सन प्लान तयार गर्न विशेषज्ञ सहितको समूह निर्माण गरियोस्
४ अक्सिजन प्लाण्ट सञ्चालन उत्पादन तथा सुलभ पहुँचको व्यवस्था गरियोस्
५ लेभल ३ कोभिड अस्पतालको निर्दिष्ट सेवा प्रत्याभूत गरियोस्
६ आचार संहिता तर्जुमा तथा कार्यान्वयन होस्
७ अन्तर सम्बन्ध समन्वय इकाइको गठन गरियोस्
८ सामाजिक लेखा परीक्षण हुने र कसले गर्ने सो को जिम्मेवारी तोकियोस्
९ नागरिकले स्वास्थ्य वीमाको उपयोग कोभिडका हकमा पनि गर्न पाउने व्यवस्था गरियोस्
१० सेवा सुचारु हुन नसकेका उपकरणहरु अविलम्ब मरमत संभार गरी सेवा सुचारु गरियोस्
११ इमर्जेन्सी सेवालाई प्रभावकारी बनाउँदै OPD सेवा नियमित गरियोस्
१२ PCR परीक्षण २४ सै घण्टा चालु गरी सरकारले घोषणा गरेको सुविधा सुलभ ढंगले प्रदान गरियोस्
१३ कोभिड अस्पताल भित्रका अव्यवस्था तुरुन्त निराकरण गरी CC Camera र गेटमा मनिटर राखियोस्
१४ अस्पताल शैयाको १० प्रतिशत ICU रहने व्यवस्था पालन गरियोस्
१५ CT Scan र Dialysis Machine चालु अवस्थामा ल्याई सेवा सुचारु गरियोस्
१६ फार्मेसीबाट व्यहोर्नु परिरहेको नोक्सानी पुनःसमीक्षा गरी फार्मेसि व्यवस्थित गरियोस्
१७ बिरामीको चाप अनुसार मातृशिशु वार्डमा बेडसंख्या कम भएकाले त्यसको व्यवस्था गरियोस्
१८ कोभिड अस्पतालको अस्तव्यस्तताको जिम्मेवार को हो ? कतै नेतृत्वमा समस्या छ कि ? पुनर्बिचार गरियोस्

यति कामको सुरुवात गर्न १ हप्ताको समय पर्याप्त हुने भएकाले यो ‘दबाव समूह’ अर्को हप्ता ठीक यसै समय यसका प्रगतिहरु बारे छलफल गर्न प्रतिष्ठानमा आउने व्यहोरा समेत जानकारी गराउन चाहन्छौं ।

प्रतिक्रिया