कोरोना सङ्क्रमणको मात्रा हेरेर प्रदेश सरकारले स्टेप चालिरहेको छ : मन्त्री घिमिरे

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना सङ्क्रमणको अवस्था अनुसार प्रदेश सरकारले काम गरिरहेको बताएका छन् ।

मन्त्री घिमिरेले विराटनगरमा निजी क्षेत्रको सक्रियतामा प्रदेश सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको साझेदारीमा कोशी कोभिड अस्पताल परिसरमा निर्माण भइरहेको आइसोलेसन केन्द्रको अनुगमन गर्दै नेपालमा कोरोना सङ्क्रमण देखा परे लगत्तै कोभिड अस्पताल निर्माण सुरु गरिएको बताए ।

कोरोना सङ्क्रमणको मात्रा हेरेर प्रदेश सरकारले स्टेप चालिरहेको बताउँदै सङ्क्रमित बढेसँगै कोभिड अस्पतालको क्षमता विकास र प्रदेशका विभिन्न स्थानमा आइसोलेसन केन्द्रहरू थप गर्दै लगिएको मन्त्री घिमिरेको भनाई छ ।

निजी क्षेत्रसँगको साझेदारीमा अक्सिजन सहितको १ सय बेड बाहेक प्रदेश सरकारले कोभिड अस्पताल परिसरमै रहेको भवनमा विशिष्टीकृत सेवासहितको थप १ सय बेड निर्माणको काम भइरहेको उनले जानकारी दिए ।

उनले भने,संघीय सरकार, प्रदेश सरकार र विराटनगर महानगरपालिकाको सहयोगमा विशिष्टीकृत सेवासहितको १ सय बेड तयार गरिरहेका छौँ, निर्माण कार्य धमाधम भइरहेकाले चाँडै सञ्चालन गरिने छ ।’

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले निजी क्षेत्रबाट काम सुरु गर्दा छिटो हुने बताएका छन् । अक्सिजन सहितको बेड तत्काल आवश्यक भएकाले सरकारी प्रक्रियामा ढिलो हुने भन्दै निजी क्षेत्रसँगको साझेदारीमा काम सुरु गरिएको उनले बताए । उनले महानगर क्षेत्रमा सङ्क्रमण बढ्दै गएकाले स्वास्थ्य सुरक्षा अपनाउन सबैमा आग्रह गरेका छन् ।

नागरिक केयर सेन्टरका संयोजक उद्योगी पवन सारडाले तिहार अगावै अक्सिजनसहितको बेड सञ्चालनका लागि काम भइरहेको बताएका छन् । सरकारले थप बेडको आवश्यकता महसुस गरेको खण्डमा त्यसका लागि नागरिक केयर सेन्टर तयार रहेको उनको भनाई छ ।

प्रतिक्रिया