दबाब समूहले बीपी प्रतिष्ठानमा आइतबार मागसहितको अवधारणा पत्र बुझाउने

भरतराज शर्मा (गोपाल)-

सुनसरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिति अन्त्यको लागि गठन गरिएको बीपी प्रतिष्ठान सुधार दबाब समूहले माग सहितको अवधारणा पत्र बुझाउने भएको छ ।

दबाब समूहको आज शनिवार बसेको पहिलो बैठकले भोलि (आइतबार) प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई मागहरूसहित अवधारणा पत्र बुझाउने निर्णय गरेको हो ।

बैठकले अवधारणा पत्रको मस्यौदा तयार गरेर अन्तिम रूप दिने जिम्मेवारी समूहका सहसंयोजक प्रा.डा.राजेन्द्र शर्मालाई दिएको छ ।

दबाब समूहका संयोजक एवं सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटाका अनुसार अवधारणा पत्रमा बीपी प्रतिष्ठानलाई सुधार गर्नुपर्ने विषय, प्रतिष्ठानको समस्याहरू र समाधानका उपायहरू समेटिएको हुनेछ ।

सो दबाब समूहले जनप्रतिनिधि, नागरिक समाजसहितको सहभागितामा अधिकार सम्पन्न अनुगमन समिति बनाउन माग गर्नुका साथै उपकुलपति डा.गिरीलाई बुझाउने अवधारणा पत्रमा यो प्रमुखताको साथ समेटिएको सापकोटाको भनाई छ ।

यस्तै, वर्तमान अवस्थाको यथार्थ चित्रणसहितको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, एक्सन प्लान तयार गर्न विशेषज्ञसहितको समूह निर्माण गर्न पनि दबाब समूहको माग हुनेछ ।

यसै गरी, अक्सिजन प्लान्ट सञ्चालन, उत्पादन तथा सुलभ पहुँचको व्यवस्था गर्न, लेभल थ्रीको कोभिड हस्पिटलको प्रत्याभूति सर्वसाधारण नागरिकलाई हुने गरी सेवा प्रदान गर्न, आचारसंहिता तर्जुमा र कार्यान्वयन गर्न पनि दबाब समूहको अवधारणा पत्रमा उल्लेख हुनेछ ।

प्रतिक्रिया