फेरि किन बढ्यो ओली-दाहाल तिक्तता ? दश दिन भो नबोलेको !

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच केही दिनयता प्रत्यक्ष भेटघाट हुन सकिरहेको छैन । उनीहरूले एकआपसमा फोनमा समेत बोल्न बन्द गरेका छन् ।

अध्यक्षद्वयबीच बोलचाल बन्दको स्थिति भएको १० दिन नाघेको छ । उनीहरूबीच पछिल्लो संवाद कात्तिक ४ गते राती फोनमा भएको थियो । त्यसदिनको फोनवार्ता सकारात्मक हुन नसकेपछि आजसम्म भेटघाट त धेरै टाढाको विषय फोन वार्तासमेत छैन । पार्टीभित्रका निर्णय कार्यान्वयन गराउन नसक्दा सत्तारूढ दलका अध्यक्षद्वयबीच असमझदारी थपिएको हो ।

उसो त नेकपाभित्र ओली र दाहाल नजिकिने र टाढिने घटनाक्रम नौला होइनन् । घटनाक्रमले भागवण्डा मिल्दा उनीहरुबीच हार्दिकता बढेको र नमिल्दा सम्बन्ध पानी बाराबारमा समेत पुगेको देखाउँछन् ।

कर्णाली प्रदेश सरकार परिवर्तन गर्ने विषयमा भएको विवादलाई लिएर प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले बेग्लाबेग्लै पत्र काटेपछि यतिखेर दुई नेताबीच भेटवार्तामा समेत ब्रेक लागेको थियो । त्यसो त यसअघि पनि राजदूत नियुक्ति, मन्त्रिपरिषद् पुनर्गठन लगायतका विषयमा अध्यक्ष दाहाल ओलीसँग रुष्ट बनिरहेका थिए । त्यसपछि विकसित अन्य घटनाले समेत अध्यक्षद्वयको दूरी बढाएको हो ।

दोस्रो तहका नेताहरू सक्रिय
अध्यक्षद्वयको सम्वाद टुटेपछि नेकपाका दोस्रो तहका नेताहरू सक्रिय बनेका छन् । अध्यक्षद्वयबीच संवाद सुरू गराउन ओली निकटका नेताहरू एकपछि अर्को गरी दाहाल निवास खुमलटार धाउन थालेका छन् ।

बालुवाटारमा बसेको ओली निकट नेताहरूको बैठकले संवादहिनतालाई तोड्नुपर्ने निष्कर्ष निकालेको छ । बैठकमा उपप्रधानमन्त्री ईश्‍वर पोखरेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा।राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङ, लगायतका नेताहरू थिए । त्यसपछि ओली पक्षीय नेताहरू बालुवाटारको विशेष दूत बनेर खुमलटार धाउन थाले ।

दाहालको सचिवालयका अनुसार अध्यक्ष दाहाललाई भेट्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, पार्टी महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र नेकपा दलका उपनेता सुवास नेम्वाङ पनि ओलीको दूत बनेर खुमलटार पुगेका थिए । खुमलटार पुग्‍ने सबै ओली निकट नेताहरूले अध्यक्षद्वयबीच संवाद हुनुपर्ने धारणा राख्दै आएका छन् ।

तर, ओली-दाहालबीचको संवादहिनता तोड्न प्रधानमन्त्रीको दूत बनेर नेताहरू दैनिक खुमलटार धाएपनि वातावरण सहज हुन सकेको छैन । आफूसँग भएको सहमति विपरित ओलीले निर्णय लिएको भन्दै दाहालले भेटवार्ताको निम्तो अस्वीकार गर्दै आएका छन् ।

विशेष गरी मन्त्रिपरिषद् पुनर्गठन, राजदूतहरुको सिफारिस र कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध पार्टीमा अविश्‍वास प्रस्ताव र प्रधानमन्त्री ओलीले ‘रअ’ प्रमुखसँगको गोप्य भेटपछि दाहालले ओलीसँग सम्वादमा बस्‍न मानिरहेका छैनन् । ‘भेटवार्ता गरेर के गर्ने ?’ प्रश्न गर्दै दाहाल निकट एक स्थायी समिति सदस्यले भने, ‘भेटघाट गर्ने, एउटा निर्णय गर्ने तर कार्यान्वयन नगर्ने ? निर्णय गर्दा प्रधानमन्त्रीले एकलौटी गर्ने ? एउटा निर्णय गरेर काम चाँहि अर्कै गर्नलाई किन भेटिरहनु पर्‍यो ?’

ओलीले एकलौटी रूपमा पार्टी सञ्चालन गर्न खोजेको, स्थायी कमिटी बैठकको आदेश अवज्ञा गरेको आरोप लगाउँदै कार्यशैली नसच्याएसम्म संवाद हुन नसक्ने अडान प्रचण्डले लिएको स्रोतको दाबी छ । दाहालको इच्छा विपरित ओलीले असोज २८ मा मन्त्रिपरिषद् हेरफेर, नियुक्ति र कार्यविभाजन गरेका थिए । प्रधानमन्त्री ओलीले निर्णय गर्ने, सहमति गर्ने तर काम गर्दा एकलौटी गर्ने गरेकाले संवादको वातावरण बन्‍न नसकेको हो ।

नेपाललाई फकाउँदै ओली
दाहालसँग संवाद हुन नसकेपछि प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँगको भेटघाटलाई तिब्रता दिएका छन् । अध्यक्षद्वयबीच संवाद हुन नसकेपछि ओलीले नेता नेपालसँग दुई पटक भेटेरै छलफल गरेका छन् । ओलीले नेता नेपालसँग कात्तिक ४ गते र गत मंगलबार बालुवाटारमा एक्लै भेटेका हुन् ।

प्रतिक्रिया