अमेरिकामा कोरोनाको नयाँ रेकर्ड, एकैदिन १ लाख बढीमा संक्रमण पुष्टि

काठमाडौं । अमेरिकामा कोरोनाभाइरसबाट दैनिक संक्रमित हुने दर अहिलेसम्मकै उच्च विन्दूमा पुगेको छ । गएको २४ घन्टामा त्यहाँ १ लाख १ हजार ४६१ जना संक्रमित फेला परेका छन् ।

कुनै पनि देशमा एकैदिन एक लाखभन्दा बढी संक्रमित फेला परेको यो पहिलो पटक हो । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको विवरण अनुसार त्यहाँ अघिल्लो दिन बिहीबार पनि ९१ हजार ८३४ नयाँ संक्रमित फेला परेका थिए ।

अमेरिकामा बिहानसम्म २ लाख ३५ हजार १५९ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ९३ लाख १६ हजार २८७ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ९८८ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख २१ हजार ६८१ पुगेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ५५० जनाले ज्यान गुमाएका छन् । २४ घण्टामा ४८ हजार १२० जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ८१ लाख ३६ हजार १६६ पुगेको हो ।

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ५५ लाख १९ हजार ५२८ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५२९ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ५९ हजार ५६२ पुगेको छ ।

विश्वमा संक्रमितको संख्या ४ करोड ५८ हजार नाघ्यो
वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ४ करोड ५८ लाख ९८ जार ५९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ११ लाख ९३ हजार ७४४ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ३ करोड ३२ लाख ४८ हजार ८२१ जना कोरोना मुक्त भएका छन् ।

विश्वभरको कोरोना अपडेट हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :- कोरोना अपडेट
प्रतिक्रिया