मुकेश चौरसियाको ८ दिनपछि अन्त्येष्टि

काठमाडौं । पर्सामा ८ दिन अघि नेकपाको शपथग्रहण कार्यक्रममा मारिएका मुकेश चौरसियाको आज अन्त्यष्टि गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई पक्षबीच भएको झडपका क्रममा मारिएका चौरसियाको बिहीबार प्रहरीले मुद्दा दर्ता गरेपछि शुक्रबार अन्त्येष्टि गरिएको हो ।

बिहीबार सरकारी वकिलको कार्यालयमार्फत पर्सा प्रहरीले १२ जनाविरुद्ध ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको थियो । मृतकका परिवारले आजै चौरसियाको शव बुझेर अन्त्येष्टि गरेको हो ।

चौरसियाका परिवारले हत्यामा संलग्नविरुद्ध जाहेरी दिए पछि प्रहरीले दर्ता गर्न नमान्दा ८ दिनदेखि चौरसियाको शव वीरगञ्जस्थित नारायणी अस्पतालमा राखिएको थियो ।

चौरसियाको अन्त्येष्टिमा नेकपाका नेता रामचन्द्र झा, प्रदेश २ का सहइन्चार्ज नागेन्द्र चौधरी, जिल्ला इन्चार्ज रामचन्द्र साह, केन्द्रीय सदस्य दिनेश राई, वीरगञ्ज महानगर अध्यक्ष रहबर अन्सारी लगायतका नेता तथा कार्यकर्ताहरु सहभागी थिए । नेकपाका स्थायी कमिटी सदस्य एंव पूर्वमन्त्री मातृका यादवले नेकपाको झण्डा ओढाएर अन्तिमश्रद्धान्जली दिएका थिए ।

प्रतिक्रिया