मंसिर भित्र सहिद रङ्गशालामा फ्लड लाइट जडान हुने

विराटनगर । आगामी मंसिर भित्रमा विराटनगरस्थित सहिद रङ्गशालामा फ्लड लाइट जडान हुने भएको छ । फ्लड लाइट जडानका लागि आवश्यक सामाग्री आइसकेकाले मंसिर भित्रमा काम सम्पन्न हुने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए ।

रङ्गशालामा फ्लड लाइट जडानका लागि आवश्यक सामाग्रीहरू ल्याएपछि अनुगमन गर्दै मन्त्री घिमिरेले मंसिर मसान्त भित्रमा काम सकिने बताए ।

गत वर्षको असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभिबीच ३२ देखि ३५ मिटरसम्मको उचाइको हुने प्रत्येक फ्लड लाइट फ्रेममा १ हजार वाटको २७ वटा बत्ती जडान गर्ने गरी ठेक्का सम्झौता भएको थियो । लकडाउनका कारण भारतबाट सामाग्री ल्याउन समस्या भएपछि निर्धारित मितिमा काम सम्पन्न हुन नसकेको मन्त्री घिमिरेले बताए ।

कोरोना सङ्क्रमण रोक्न सरकारले नेपाल र भारतको सीमा सिल गरेको कारण देखाउँदै कम्पनीले सामग्री ल्याउन नसकेको कार्की बन्धु अमर जेभिका प्रोप्राइटर गणेश कार्कीले बताए । उनले मङ्सिर भित्रमा काम सम्पन्न गरिने बताए । उनका अनुसार अहिले ३३ मिटरका मास्ट (पोल) र १०८ वटा लाइट ल्याइसकिएको बताए ।

लकडाउनले भारतबाट आवश्यक निर्माण सामग्री ल्याउन समस्या भएपछि पछिल्लो पटक पुस २८ गतेसम्मको समय सीमा दिइएको सामाजिक विकास मन्त्रालयका युवा तथा खेलकुद शाखा प्रमुख कोमल खड्काले बताए । मन्त्रालयले फ्लड लाइट जडानका लागि ४ करोड २९ लाख रुपैयाँमा ठेक्का दिएको उनले जानकारी दिए ।

प्रतिक्रिया