कोरोनाले सुकायो पोखरालाई, पर्यटक नआउँदा डुङ्गा खियाउनेहरु मारमा (फोटो फिचर सहित)

कास्की । पोखरा, आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षकको केन्द्र विन्दु हो । तर, यतिबेला पोखरामा मुस्किलले पर्यटक देख्न पाइन्छ । चाडवाडसँगै पर्यटकले खचाखच हुने नेपालकै प्रमुख पर्यटकीय स्थल आजभोली सुनसान भएको छ ।

पोखराका साधारण देखि स्टार लेवलका होटल, रिसोर्टहरु यतिबेला सुनसान छन् । लेकसाइटमा रहेका साँझ लाइभ म्युजिक क्याफे, रेष्टुराँहरु पनि ग्राहकको पखाईमा छन् ।

विश्वव्यापी कोरोना संक्रमणका कारण पोखराको पर्यटन व्यवसाय संकटमा परेको व्यवसायीहरुको भनाई छ । ‘गतवर्ष यो समय मान्छेहरुको पाइला राख्ने ठाउँ हुन्नथ्यो, अहिले दिनभर घाम तापेर बस्नु परेको छ ।’ लेकसाइटमा चिया नास्ता बेचेर गुजारा चलाउने मनमाया गुरुङ भन्छिन् ।

पोखरामा सबैभन्दा बढि पर्यटकको जमघट हुने लेकसाइट, फेवाताल सुनसान छ । पसलहरु बन्छ जस्तै छन्, फाट्टफुट्ट खोलेकाहरुले पनि मुस्किलले ग्राहक पाउँछन् । ‘कोरोनाले हामीलाई उठ्नु र बस्नु बनाईदियो, मासिक एक लाख भन्दा बढि भाडा छ, सात महिनायता व्यापार ठप्प छ ।’ लेकसाइटमा कस्मेटिक्स पसल सञ्चालन गर्ने अञ्जन सिंघाची भन्छन् ।

पोखरा पुगेपछि तालवाराही मन्दिर दर्शन गर्ने र फेवातालमा डुङ्गा नचढ्नेहरु कमै हुन्छन् । तर, यसपाली फेवातालमा रहेका करिब साँढे तीन सय बढि डुङ्गाहरु थन्किएर बसेका छन् । दसैं नजिकिएसँगै डुङ्गा शयर गर्नेहरुका लागि डुङ्गा खुल्ला गरिएपनि पर्यटकहरु नै छैनन् । अरु बेला दिनको चारपाँच ट्रिप गर्ने लक्ष्मण तामाङ आजभोली २ दिनमा एकपल्ट पालो पाउँछन् । ‘खै हजुर साहुको डुङ्गा चलाउनु पर्छ, १०५० रुपैंयामा २५० मात्र आफ्नो हुन्छ । त्यैपनि आजभोली २ दिनमा पालो आइपुग्छ ।’ कुनैबेला दिनको ८ ट्रिपसम्म भ्याउने लक्ष्मण आजभोली डुङ्गा खियाउन नपाएर आफ्नै जिन्दगी खिइँदै गरेकोमा चिन्तित छन् ।

फेवातालमा डुङ्गा खियाएर जिवन चलाउनेहरुको संख्या सयौंको छ । फेवाताल डुङ्गा व्यवस्थापन समितिसँग साँढे तीनसय बढी डुङ्गा दर्तामा छन् । ती मध्ये ८० प्रतिशत साहुको डुङ्गा हो । ‘आफ्नै डुङ्गा हुनेले २ दिनमा एक ट्रिप गरेपनि परिवार पाल्न सक्लान्, तर, यहाँ ८० प्रतिशत बढि अरुको डुङ्गा चलाउने भएकाले उनीहरुलाई सास्ती भएको छ ।’ डुंगा व्यवस्थापन समितिका एक सदस्यले भने ।

साधारण तयाः फेवातालमा एकपल्ट डुङ्गा शयर गर्दा न्यूनतम ४५० देखि २१०० सम्म लाग्छ । त्यस मध्ये ७० प्रतिशत भन्दा बढि पैसा डुङ्गा साहुहरुले लाने गर्दछन् । समितिले रुट अनुसारको भाडा निर्धारण गरेको छ । लामो दुरी लैजान पाउनेहरुका लागि भने दिनको एक ट्रिप पाउँदा राहत हुने गरेको अर्का डुङ्गा चालक बताउँछन् ।

धार्मिक पर्यटकीय क्षेत्र बन्द

पोखरा प्राकृतिक पर्यटनसँगै धार्मिक पर्यटनले पनि प्रसिद्ध छ । तर, सात महिना यता यहाँका धार्मिक पर्यटकीय क्षेत्रहरु खुल्न सकेका छैनन् । पोखराकोप्रसिद्ध तालबाराही मन्दिर, बिन्ध्यबासिनी मन्दिर, ह्वाइट गुम्बा, गुप्तेश्वर महादेव गुफाहरु अझै खोल्न सकिएको छैन ।

पोखरा जाने धेरैको रोजाईमा पर्ने प्याराग्लाइडिङ पनि भर्खरै सञ्चालनमा आएको छ । तर, प्याराग्लाइडिङ गर्ने पर्यटकहरु खासै छैनन् । आन्तरिक पर्यटकलाई आकर्षित गर्न प्याराग्लाइडिङको शुल्क आधा घटाइएको छ ।

 फोटो : केशब सापकोटा/मकालु खबर

प्रतिक्रिया