कांग्रेस सभापति देउवाले डाके शीर्ष नेताहरुको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरूकाे बैठक डाकेका छन् ।

२१ गते केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । साे बैठकअघि पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी लगायतसँग छलफल गर्न  सभापति देउवाले साेमबारका लागि शीर्ष नेताहरूकाे बैठक बाेलाएका हुन् ।

यो छलफललाई १७ असोजको बैठकको निरन्तरता मानिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले अघि सारेको मागबारे छलफल गर्न १७ असोजमा शीर्ष नेताहरुको बैठक बसेको थियो ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी कात्तिक २१ गते सानेपास्थित केन्द्रीय कार्यालयमा बस्दै छ । उक्त बैठक पार्टीको आगामी १४ औं महाधिवेशनको तयारीका बारेमा केन्द्रित रहने बताइएकाे छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थित हुन अनुरोध समेत गरिएको छ ।

यसअघि पहिलो पटक असोज १९ गतेका लागि बोलाइएको बैठक बाेलाइएकाे थियाे । तर केही केन्द्रीय सदस्यहरुमा कोरोना संक्रमण देखिएपछि स्थगित भएको थियो । दोस्रो पटक असोज २५ गतेका लागि बैठक बोलाइएको भए पनि पार्टीका पूर्व कोषाध्याक्ष रामबाबु प्रसाईंको निधन भएपछि स्थगित भएको थियो ।

प्रतिक्रिया