ओली–दाहालबीचको दुरी घटाउन ‘दूत’ सक्रिय

काठमाडाैं । कर्णाली प्रदेशमा उत्पन्न विवादपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बढेको तिक्तता तथा दुरी अझै घट्न सकेको छैन ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले कुरा फेरिरहेको, पार्टीको निर्णय उल्लंघन गरेर एकलाैटी ढंगबाट अघि बढेकाे भन्दै कात्तिक ३ गते यता उनको छलफलको निम्तो समेत स्वीकार गरेका छैनन् । दुई अध्यक्षबीच संवाद हुन नसक्दा विवाद समाधान हुन सकेको छैन । सम्बन्ध सुमधुर बनाउन दुवैतर्फबाट दूतहरूकाे सक्रियता बढेकाे छ ।

बिहीबार मात्रै प्रदेश ५ का मुख्यमन्त्री एवम् स्थायी कमिटी सदस्य शंकर पोखरेलले खुमलटार पुगर अध्यक्ष दाहाललाई ओलीकाे सन्देश पुर्याएका थिए । दुई अध्यक्षका बीचमा जारी संवादहीनताकाे स्थिति तोड्न आग्रह समेत गरेका छन् ।

बुधबार पनि दाहाललाई भेट्न महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङ पुगेका थिए । छलफलमा  प्रधानमन्त्रीले एकलौटी मन्त्रिपरिषद् पुनर्गठन गरेकाे गुनासाे प्रचण्डले गरेका थिए । प्रचण्डलाई मनाउन ओलीका दूत सक्रिय भएपनि प्रचण्ड संवादकाे मुडमा अझै देखिएका छैनन् ।

प्रचण्ड निकट नेताहरूले ओली एकलाैटी ढंगबाट अघि बढेकाे आराेप लगाइरहेका छन् भने ओली निकट नेताहरूले प्रचण्डले पार्टीको काम गर्नुपर्नेमा चाहिनेभन्दा धेरै भागबन्डा खोजेर परिस्थित झन् बिगारेकाे आराेप लगाएका छन् ।

भारतीय गुुप्तचर संस्था रअ प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्रीले भेट गरेपछि दुरी झनै बढेकाे पाइएकाे छ । प्रधानमन्त्रीले भने भारतले नै दूत पठाउँछु भनेको तर सामन्त गोयल आएको आफू निकट नेताहरुलाई जवाफ दिएको एक नेताले बताए ।

प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापाले भेटवार्ताका क्रममा गाेयलले नेपाल-भारतबीचको मैत्री सम्बन्ध खल्बलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने विषयमा गाेयलले आफ्नो धारणा राखेकाे यसअघि नै बताएका थिए ।

प्रधानमन्त्रीकाे एकलाैटी रबैया बढ्दै गएकाे भन्दै प्रधानमन्त्री निकट नेताहरूले प्रचण्ड-माधव नेपाल पक्षले अविश्वासको प्रस्ताव ल्याउन लागेको दावी समेत गरेका थिए । यद्यपी प्रचण्ड-नेपाल पक्षले त्यसलाई अस्विकार गरेको छ ।

प्रतिक्रिया