भारतीयलाई नागरिकता दिन सिफारिस गर्ने वडाध्यक्ष पक्राउ

धनगढी । भारतीय नागरिकलाई वंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस दिएको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् ।

कैलालीको टिकापुरमा बसोबास गरिरहेका अलियास अन्सारीलाई नागरिकता दिलाउन वडा कार्यालयबाट सिफारिस गरेको भन्दै प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष गणेशप्रसाद जोशीलाई पक्राउ गरेको हो ।

जोशीले २०७५ साल फागुन २० गते सिफारिस गरेको भेटिएपछि अनुसन्धानका लागी वडाध्यक्षलाई नियन्त्रणमा लिइएको हो । यस्तै जोशीले वडा नम्बर १२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरी नक्कली बुवा बनेको सिफारिस गरेको भेटिएपछि छ ।

नक्कली बुवा बनेका चौधरी फरार छन् भने उनका दाजु खुसीराम चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक दिलिप देउवाले जानकारी दिए ।

नेपाली नागरिकता ऐन २०६३ मा विदेशीले नेपाली नागरिक भएको झुठो दावी गरी नागरिकता प्राप्त गरेमा १ वर्षदेखि ५ वर्ष सम्म कैद र ५० हजारदेखि १ लाख सम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था गरेको छ । दण्ड सजाय सम्बन्धि ऐनको दफा २१ मा उक्त व्यवस्था छ । उक्त दफा बमोजिम सजाय भएमा प्राप्त गरेको नागरिकता स्वतः रद्द हुने उल्लेख छ ।

सोही दफाको उपदफा २ मा कुनै विदेशीलाई झुठो विवरणका आधारमा नागरिकता दिलाउने कार्यमा सनाखत वा सिफारिस गर्ने व्यक्तिलाई ६ महिनादेखि ३ वर्ष सम्म कैद वा २५ हजारदेखि ५० हजार सम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ ।

कैलाली प्रहरीले नागरिकता दिलाउने सिफारिस दिलाउने वडाध्यक्ष जोशीलाई नागरिकता ऐन अनुसार नै माग दावी गर्दै कारवाही गरिने जनाएको छ ।

प्रतिक्रिया