मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

एक साताभित्र देहरादूनबाट नेपाली विद्यार्थी फिर्ता पठाउने सहमति

काठमाडौँ । दशैँको टिकाको दिन भारतको देहरादुनस्थित शाक्य एकेडेमीमा नेपाली विद्यार्थीमाथि भएको निर्घात कुटपिटको घटनामा एकेडेमीकी प्रिन्सिपलले माफी मागेकी छन् ।

भारतको देहरादूनस्थित बौद्धशिक्षा पढाइ हुने उक्त एकेडेमीमा भएको घटना सार्वजनिक भएपछि बिहीबार हरिद्वार–ऋषिकेश र देहरादूनस्थित नेपाली समाजका प्रतिनिधिले गरेको ताकेतापछि एकेडेमी व्यवस्थापनसँग बिहीबार साँझ वार्ता भएको थियो ।

वार्तापछि एकेडेमी प्रिन्सिपल छिरिङ छादेनसँग भएको लिखित सहमतिमा विद्यार्थी घर फिर्ता पठाउने क्रममा नेपाली प्रतिनिधि पाण्डेयले सबै विद्यार्थीका अभिभावकसँग सम्पर्क गरेर नेपाल–भारत बोर्डर नाकासम्म पुर्‍याउने प्रबन्ध गर्ने भएका छन् ।

एकेडेमीसँग वार्ता गर्न गएको नेपाली टोलीका संयोजक पाण्डेयका अनुसार सोमबार रातिको कुटपिट घटनामा सख्त घाइते भएका ३ जना विद्यार्थीलाई तत्काल अस्पतालमा लगेर उपचार गरिने र अरुको हकमा इच्छाअनुसार घर फिर्ता गर्न प्रबन्ध गरिने भएको हो ।

नेपाली विद्यार्थीमाथि भएको कुटपिटको खबर सार्वजनिक भएपछि हरिद्वारबाट पाण्डेय, देहरादूनस्थित गोरखा डेमोक्रेटिक संघका सूर्यविक्रम शाही, उत्तराखण्ड सरकारमा गोरखा कल्याण परिषद्का राज्यमन्त्री टीडी भुटिया, उत्तराखण्ड बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष उषा नेगीसहितका प्रतिनिधि एकेडेमी पुगेका थिए ।

दसैं बिदामा घर फिर्न पाऊँ भनेर ४७ विद्यार्थीले निवेदन दिएपछि विद्यार्थीमाथि कुटपिट भएको र यही घटनाका कारण गत मंगलबार ७ जना नेपाली विद्यार्थी एकेडेमीबाट भागिसकेको बताइएको छ ।

बाँकी ४० लाई एक साताभित्र घर पठाइने भएको छ । ती विद्यार्थीहरु धादिङ, रसुवा, रुकुम, रोल्पा, नुवाकोट, सिन्धुपाल्चोक, दोलखासहितका जिल्लाका हुन् ।

 

प्रतिकृयाहरु
Loading...