चितवनको शक्तिखोर र सिद्धिबाट डेढ करोडको खसी-बोका बिक्री

  • ध्रुवराज खनाल

चितवन । चितवनको कालिका नगरपालिकाको शक्तिखोर र सिद्धिबाट दशैंका लागि डेढ करोड भन्दा बढीको खसी बोका बिक्री बाहिरिएको छ । साबिक शक्तिखोर र सिद्धि गाबिस (हाल कालिका नगरपालिका ८,९,१० र ११) बाट एक करोड ६१ लाख २५ हजार बराबरको खसी बोका बिक्री भएको हो । स्थानीय लगनशील सामाजिक उद्यमी महिला सहकारी र तीन दोभान सामाजिक उद्यमी सहकारी मार्फत् खसी बिक्री भएको थियो ।

कालिका ८ स्थित लगनशील सहकारीबाट ६ सय वटा खसी बिक्री भएको सहकारिकी व्यवस्थापक जुना लामाले बताइन् । खसिको तौल अनुसार न्युनतम ६५० देखि अधिकतम ७०० रुपैयाँ सम्ममा बिक्रि गरिएको छ । लगनशीलको कार्य क्षेत्र कालिका ८ र ९ हो ।

यी दुई वटा वडाबाट करिब ९० लाख बराबरको खसी बोका बिक्री भएको सहकारीकि व्यवस्थापक लामाले जानकारी दिइन् । यस क्षेत्रको खसी बिक्रीका लागि सहकारीले सहजीकरण गर्दै आएको छ । बजार र व्यापारी खोजेर किसानको खसी बिक्री हुने गरेको छ । त्यसबापत सहकारीले प्रति किलो ५ रुपैयाँ लिने गरेको छ ।

सहकारीमा ६३८ जना सदस्य आवद्ध छन् । उनिहरु मध्ये ९० प्रतिशतले खसी पाल्दै आएका छन् । एउटा किसानले ४ देखि ८० वटा सम्म खसी बोका पालन गर्दै आएका छन् । यस बर्षको दशैंमा १ हजार वटा बिक्री गर्ने लक्ष्य लिएपनि ६०० वटा मात्र खसी बोका बिक्री भएको लगनशिल सहकारीकि व्यवस्थापक लामाले बताइन् ।

लकडाउनका दैनिक १५० वटा सम्म खसी बिक्री भएको थियो । गतवर्ष दशैंका बेला सो सहकारी मार्फत् १३ सय ३८ वटा खसी बिक्रि भएको थियो । सो सहकारीले घाँसको बीउ, प्राविधिक सहयोग, आर्थिक सहयोग, दाना चोकर बिक्री र रासायनिक मल बिक्री गर्दै आएको छ ।

त्यस्तै तीन दोभान सामाजिक उद्यमी सहकारी मार्फत् यस बर्षको दशैंका लागि ५०० वटा खसी बोका बिक्री भएको छ । २० किलो मुनिका ५५५ र २० किलो माथी ५८५ सम्ममा बिक्री गरिएको तीन दोभान सामाजिक उद्यमी सहकारीकि व्यवस्थापक सानू लामाले जानकारी दिइन् ।

लामाका अनुसार करिब ७१ लाख २५ हजार बराबरको खसी बोका बिक्री भएको हो । सो सहकारीको कार्य क्षेत्र कालिका १० र ११ हो । सो सहकारीले पनि बजार र व्यापारी खोजेर वापत प्रतिकिलो ५ रुपैयाँ लिने गरेको छ । गत वर्ष बढीमा ४८० रुपैयाँ प्रतिकिलो भएतापनि यस वर्ष भने राम्रो मुल्य पाएको सहकारीकि व्यवस्थापक लामाले बताइन् ।

कालिकाको शक्तिखोर र सिद्धिका स्थानीयको प्रमुख आयश्रोत खसी बोका पालन हो ।

प्रतिक्रिया