छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

काठमाडाैं । कैलाली, दाङ, बारा, र दार्चुलाका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।

कैलाली, धनगढी उपमहानगरपालिका-३ चटकपुरस्थित सडकमा बुधबार दिउँसो ना.३ ख ५५८५ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका सगंमटोल बस्ने ६६ वर्षीय बीर सिंह बिष्टको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका बिष्टको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक प्रहरीले नियन्त्रणमा लिई हाल फरार ट्रक चालकको खोजी गरिरहेको छ ।

दाङ, लमही नगरपालिका-१ नर्तिस्थित सडकमा बुधबार दिउँसो भे.१० प १५४९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-२ दोलही बस्ने ७५ वर्षीय भरथारी चौधरीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका चौधरीको लमही अस्पताल हुँदै मेडिकल कलेज बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बारा, बारागढि गाउँपालिका-५ सिंहासनी चोकस्थित सडकमा ना४७ प १९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर बुधबार राति दुर्घटनामा हुँदा रौटहट फतुवा बिजयपुर नगरपालिका-११ भैँसाही बस्ने २३ वर्षीय धर्वेन्द्र चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको कलैया अस्पताल बारामा उपचारको क्रममा मृत्यु भएको हो ।

दार्चुला, अपिहिमाल गाउँपालिका-५ घोडेभित्तास्थित सडकमा लु.४ त २६३६ नम्बरको ट्याक्टरले च्यापेर ट्याक्टर चालक दाङ लमही नगरपालिका बनगाई बस्ने ३२ वर्षीय प्रेम थापाको बुधबार बेलुका घटनास्थलमै मृत्यु भएको छ । अपिहिमाल गाउँपालिका-५ मकरीगाड हाईड्रोपावरको लागि सिमेन्ट लैजाने क्रममा ट्याक्टर रोकेर ट्याक्टरबाट झरेका उनलाई एक्कासी ट्याक्टर आगाडि बढी च्याप्दा मृत्यु भएको हो ।

दुर्घटनाका साम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया