विश्वमा ११ लाख ७८ हजारले ज्यान गुमाए, संक्रमितको संख्या ४ करोड ४७ लाख नाघ्यो

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । अहिलेसम्म संक्रमितको संख्या ४ करोड ४७ लाख नाघेको छ भने ११ लाख ७८ हजारभन्दा बढीको मृत्यु भएको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ४ करोड ४७ लाख ४१ जार २०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ११ लाख ७८ हजार ५३५ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ३ करोड २७ लाख १९ हजार २ जना कोरोना मुक्त भएका छन् ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख ३३ हजार १३० जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ९१ लाख १९ हजार ८३६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ८० हजार ६६६ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने १ हजार ३० जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख २० हजार ५६३ पुगेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ५०९ जनाले ज्यान गुमाएका छन् । २४ घण्टामा ४९ हजार ९१२ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ८० लाख ३८ हजार ७६५ पुगेको हो ।

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ५४ लाख ६९ हजार ७५५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४८७ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ५८ हजार ४६८ पुगेको छ ।

विश्वभरको कोरोना अपडेट हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :- कोरोना अपडेट
प्रतिक्रिया