नेकपाको राज्यसत्ता हत्याराहरुको संरक्षक हो ?

काठमाडौं । पर्सामा नेपाल कमयुनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताबीच भएको झडपका क्रममा ६ दिनअघि मृत्यु भएका मुकेश चौरसियाको अझै पोष्टमार्टम हुन सकेको छैन ।
गत बिहीबार नेकपाको बिन्दावासिनी गाउँपालिका अध्यक्षको शपथ ग्रहण कार्यक्रममा असन्तुष्ट पक्षले विथोल्न खोज्दा भएको झडपमा परी गम्भीर घाइते भई शुक्रबार उपचारको क्रममा मृत्यु भएका चौरसियाको शव वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ ।
आक्रमण गर्नेहरुमाथि प्रहरीले किटानी जाहेरी दर्ता नगरेको भन्दै परिवारजन तथा नेकपाका नेता कार्यकर्ताहरुले शव पोष्टमार्टम गर्न दिन मानेका छैनन् । सत्तारुढ दलकै कार्यकर्ताको झडपमा परेर मृत्यु भएपनि जाहेरी दर्ता भएको छैन । जाहेरी दर्ता गर्न पर्सा प्रहरी पछि हट्दा पीडितलाई न्याय दिनुको साटो उल्टै पीडा दिइरहेको भन्दै अर्काे आलोचना भइरहेको छ ।
यहिबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता धनराज गुरुङले नेकपा राज्यसत्तामा न्याय मरेको टिप्पणी गरेका छन् । उनले कार्यकर्ताको हत्यासम्बन्धी जाहेरी लिन नमानेर नेकपा सरकारले कस्तो सन्देश दिन खोजेको हो भनि प्रश्न गरे । सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै उनले नेता गुरुङले सरकार हत्याराको संरक्षणमा लागेको आरोप लगाए ।
‘नेकपा कै सरकार ! नेकपा कै कार्यकर्ता मुकेश चौरासियाको हत्या ! मुकेशको हत्यासम्बन्धी जाहेरीसमेत दर्ता गर्न मान्दैन राज्यसत्ता ! यस घट्नाबाट नेकपाको राज्यसत्ताले कस्तो सन्देश दिन खोजेको हो? नेकपाको राज्यसत्तामा न्याय मरेकै हो? नेकपाको राज्यसत्ता हत्याराहरुको संरक्षक हो?’, प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै ट्विटरमा नेता गुरुङले लेखेका छन् ।
नेकपा कै सरकार! नेकपा कै कार्यकर्ता मुकेश चौरासियाको हत्या! मुकेशको हत्या सम्बन्धि जाहेरी समेत दर्ता गर्न मान्दैन राज्यसत्ता! यस घट्नाबाट नेकपाको राज्यसत्ताले कस्तो सन्देश दिन खोजेको हो? नेकपाको राज्यसत्तामा न्याय मरेकै हो? नेकपाको राज्यसत्ता हत्याराहरुको संरक्षक हो? @PM_Nepal
— Dhan Raj Gurung (@dhanrgrg) October 27, 2020
गएको कार्तिक ६ गते पर्साको विन्दवासिनी गाउँपालिका ५ मा नेकपाको गाउँकमिटीको सपथग्रहण कार्यक्रममा असन्तुष्ट पक्षबाट आक्रमण भएपछि झडप भएको थियो । झडपमा परी नेकपाका जिल्ला सदस्य तथा गाउँ कमिटी सचिव मुकेश चौरसिया लगायत दुवै तर्फका पाँचजना घाइते भएका थिए । टाउकोमा गम्भीर चोट लागेका चौरसियाको शुक्रबार बिहान उपचारको क्रममा मृत्यु भएको थियो ।








