भारत र अमेरिकाबीच भएको ‘बेका’ सम्झौता के हो ?

काठमाडौं । चीनसँग चर्को सिमाना तनावका माझ भारत र अमेरिकाले भूउपग्रहमार्फत् प्राप्त हुने सम्वेदनशील डेटा एक अर्कासँग बाँड्ने सैन्य सम्झौता गरेका छन् ।

त्यस्तो डेटाको सहयोग क्षेप्यास्त्र, ड्रोन तथा अन्य निशानाहरूमा ठीक निशाना लगाउन महत्त्वपूर्ण हुने बताइएको छ । दिल्लीमा भएको ‘२+२’ उच्चस्तरीय भेटवार्तापश्चात् मङ्गलवार उक्त सम्झौताको घोषणा गरिएको छ ।

अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओ र रक्षामन्त्री मार्क एस्परले भारतका विदेशमन्त्री एस जयशङ्कर र रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका हुन् ।

के हो ‘बेका’ सम्झौता ?
बेसिक एक्सचेन्ज एन्ड कोअपरेशन एग्रिमेन्ट अन जियोस्पाचियल कोअपरेशन वा छोटकरीमा बेका सम्झौता अन्तर्गत भारतलाई सैन्य विकल्पहरूमा सघाउन आवश्यक सम्वेदनशील जियोस्पाचियल तथा एअरोनटिकल डेटा अमेरिकाले उपलब्ध गराउनेछ ।

दुई पक्षले परमाणु ऊर्जा, भू-विज्ञान तथा वैकल्पिक औषद्योपचारसम्बन्धी अन्य सम्झौता पनि गरेका छन् । तर सबभन्दा महत्त्वपूर्ण बेका सम्झौता मानिएको छ । यो सम्झौता अन्तर्गत अमेरिकाले भारतलाई प्रदान गरेका सैन्य विमानहरूमा नेभिगेशन तथा एभियोनिक्ससम्बन्धी अत्याधुनिक सुविधा राखिने एकजना भारतीय रक्षा सूत्रले रोयटर्स समाचार संस्थालाई बताए ।

चीनप्रति संशय
भारत र अमेरिकाबीचको पछिल्लो सैन्य सम्झौता त्यतिखेर भएको छ जतिखेर हिमाली लद्दाख क्षेत्रमा भारत र चीनबीच सिमाना विवाद चर्किएको छ ।

गत जुनमा भएको झडपमा २० जना भारतीय सैनिकको ज्यान गएको थियो । महिनौँ यता भएका विभिन्न चरणका कूटनीतिक तथा सैन्य वार्ताले पनि स्थिति सहज भइसकेको छैन । यही समयमा अमेरिका र चीनबीच पनि सम्बन्ध विग्रिएको छ । राष्ट्रपति ट्रम्पले बेइजीङको कोरोनाभाइरस व्यवस्थापनको चर्को आलोचना गरेका छन् ।

भारत र अमेरिकाबीचको सैन्य सम्बन्धमा पछिल्लो सम्झौता थप एक कदम मानिएको छ । भारत विश्वकै सबभन्दा ठूलो रक्षा सामग्री आयातकर्तामध्ये पर्छ । तर उसका ६०-७०% रक्षा सामग्री तथा हातहतियार रुसबाट आयात गरिन्छ । बीबीसी

प्रतिक्रिया