मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

पहिलेको पढाईः हेड सरको क्रुर व्यवहार र पिउन सरको कुटाई

"पियन सरको लठ्ठी र गर्जन सुनेर विद्यार्थीहरुको सातो पुत्लो नै उड्थ्यो । होस हवास हराउँथ्यो ।"

प्रायः टिफिन पछिको हेड सरको पीरियड हुन्थ्यो । हाफ टाइमको घण्टी लागिसकेपछि किताब कपी झोलामा बोकेर कि घर तिरै कुदिन्थ्यो कि साथी साथी मिलेर स्कुल भन्दा टाढा जङ्गलमा गएर गुच्चा खेलिथ्यो । स्कुलको छुट्टी हुने समय भएपछि घरतिर लगिन्थ्यो ।

बाल मस्तिष्कमा परेको त्यो डर त्रासले स्कुल र शिक्षकप्रति घृणा मात्रै जाग्थ्यो । बालबालिकाहरूलाई गोरु पिटेझैँ पिट्ने संस्कार नै थियो । कोही विद्यार्थी भागेकोमा पिटाइ खान्थे, कोही नजान्ने भनेर पिटाइ खान्थे । केही विद्यार्थीहरू बानी परिसकेका हुन्थे । कोही भने डरै डरले स्कुलै जान छोडिदिन्थे ।

अहिलेको जस्तो सहज कहाँ थियो र बालबालिकाहरूलाई पढाई । जसले पिटाइ र गाली सहन्थे उनीहरू भने राम्रैसँग माथिसम्म पढ्थे । जसले राम्रोसँग सिक्ने वातावरण पनि पाएनन् उनीहरू नै नजान्ने भन्दै भकुरिन्थे पियन सरबाट । घर परिवार पछिको दोस्रो सिकाइको थलो भनेर विद्यालयलाई भनिन्छ र दोस्रो आमा बुबा शिक्षक शिक्षिकालाई भनिन्छ । गुरु भनेर पूजा गरिन्छ । बालबालिकाको भविष्य वेत्ता मानिन्छ शिक्षकलाई । जसले बाटो देखाउने गन्तव्य चिनाउने गर्छ । तर, बालबालिकाको मस्तिष्कमा चोट पुग्ने गरी घातक प्रहार गर्ने शिक्षकलाई के संज्ञा दिनु ? व्यवस्था परिवर्तन भइसकेको छ ।

पहिले र अहिलेको शिक्षा प्रणाली तथा सिकाइको अवस्था हेर्दा आकाश जमिनको फरक छ । अहिले आधुनिक प्रविधिको विकासले समाज पनि परिवर्तनशील भइसक्यो । समाजका हरेक घर परिवार शिक्षा बाट वञ्चित भए पनि सोचाइमा भने परिवर्तन भएको छ । बालबालिकहरुलाई कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुरा घर परिवारले बुझिसकेका छन् । विद्यालयहरू सबैजसो बालमैत्री बनिसकेका छन् ।

विद्यार्थीहरूलाई कुट्नु हुँदैन भन्ने मानसिकताको विकास भइसकेको छ । विद्यार्थीलाई कुट्दा हकार्दा उनीहरूमा नकारात्मक असर पर्छ भन्ने बुझेका छन् । अहिले विद्यार्थीहरूले कुटाइ खाने त परै जावोस शिक्षकले अलिकति चर्को बोलेमा पनि विद्यार्थीले घरमा कम्प्लेन गर्ने गर्छन् । त्यतिवेलाको समयमा शिक्षकले कुट्यो भनेर विद्यार्थीले घरमा भन्यो भने उल्टै गाली खाइन्थ्यो ।

समय कति परिवर्तनशील रहेछ भन्ने कुरा यही शिक्षा प्रणालीमा आधारित वास्तविक घटना स्मरण गराउन चाहे ।
मैले पढ्ने प्राथमिक स्कुल सरकारी विद्यालय थियो । शिक्षक कति थिए त्यतिवेला मलाई ठ्याक्कै एकिन भएन । स्कुलमा हेड सर र पियन सरको खुबै चर्चा थियो । र समाजमा पनि निकै चर्चा गरिन्थ्यो । तर, विद्यार्थीको नजरमा भने सधैँ कुनै जङ्गलको राजा सिंहको जस्तै उपमा थिए हेड सर र पियन सर ।

कक्षा ५ सम्मको पढाइ हुने मेरो आधारभूत सिकाइको थलो नै हो । समुदायमा एउटा मात्रै विद्यालय भएको र समुदाय ठुलै भएकाले विद्यार्थी सङ्ख्या पनि धेरै थियो । त्यतिवेला समुदायमा प्राथमिक शिक्षा अध्ययनको लागि एउटा मात्रै विद्यालय थियो । विद्यालयमा काम गर्नको लागि राखिएको पिउनलाई पनि सर भनेर सम्मान गर्नुपर्थ्यो ।

यस्तो भनेको मतलब पिउनलाई हेपेर भनिएको होइन । विद्यालयमा शिक्षकहरूको सङ्ख्या कम थियो । अनि पिउनको काम गर्ने मान्छेले नै कक्षामा हाजिरी गर्नेदेखि लिएर कहिलेकाहीँ विद्यार्थीहरूलाई डराएर कक्षा कोठा भित्र पढ्न लगाउने काम गर्थे । अनि विद्यार्थीहरूले पिउन सर भनेर सम्बोधन गर्नुपर्थ्यो । अहिले पनि उनलाई पिउन सर भनेर नै सबैले चिन्ने गर्छन् । फलानो विद्यालयको पिउन सर को भनेपछि गाउँका सबैले चिन्ने मध्येकै परे ।

हेडसरको निर्देशनमा पिउन सरको रजाइँ हुन्थ्यो । पिउन सरको लठ्ठी र गर्जन सुनेर विद्यार्थीहरूको सातो पुत्लो नै उड्थ्यो । होस हवास हराउँथ्यो । टिफिन पछिका पिरियडहरूमा दोहोर्‍याएर विद्यार्थी हाजिर हेरिन्थ्यो । बिहान उपस्थित भएका विद्यार्थीहरू टिफिनपछिको हाजिरीमा देखिएनन् भने उनीहरूको नाम टिपाइन्थ्यो । अनि अर्को दिन बिहान स्कुल लाग्दा लाइनमै पिउन सरको लाठ्ठीबाट सेकाइथ्यो । एक एक गरी नाम पुकार्दै लाइनको अगाडी बोलाउँदै भाग्नेहरूलाई सबै विद्यार्थीको अगाडी पिउन सरले कायल पार्ने गरी कुट्नुहुथ्यो । र, हेड सर कुट्न निर्देशन दिनुहुन्थ्यो ।

यस्तो कुटाइ खाएर कतिपय विद्यार्थीहरूले त स्कुल नै छोडिदिन्थे । कोही कोही ३,४ दिनपछि मात्रै स्कुल जान्थे । त्यति बेलासम्म हेड सरको रिस शान्त भइसक्थ्यो ।

त्यतिवेला कक्षा ४ र ५ मा हेड सरले अङ्ग्रेजी पढाउनु हुथ्यो । अङ्ग्रेजी भन्ने बित्तिकै डराउने सरकारी स्कुलका विद्यार्थी हेड सरको पिरियड भनेपछि झन् थर्कमान हुन्थे । आज पढ्न बसेको विद्यार्थी अर्को दिन उक्त क्लासमै बस्दैनथ्यो । हेड सरले पढाउन थाल्नुहुन्थ्यो विद्यार्थीहरू घोरमुन्टी लगाएर बस्थे कक्षामा । पढाइ सकेर सोध्नु पनि हुन्थ्यो । तर अङ्ग्रेजी शब्दको अर्थ जसलाई आएन र आएर पनि डराएर भन्न सकेन भने उसले फेरी हेड सरको हातबाट भकुराई खानुपर्थ्यो । यो अवस्था एक दिन मात्रै होइन त्यो स्कुलमा हेड सर विराजमान भएको दिनदेखि चलेको थियो । कुटाइ खाएर कतिले बिचमै स्कुल छोडेर आफ्नो भविष्य खाडी मुलुकको मजदुरीमा सुम्पिएका छन् ।

विद्यार्थी स्कुलमा नबस्ने र पढाइमा रुचि नजाग्ने पहिलो कारण त्यो समुदायका विद्यार्थीको लागि हेड सर र पिउन सरको राज सिंहासन नै हो भन्छन् स्कुल छोडेर खाडी मुलुकमा मजदुरी गर्न गएका भुपू विद्यार्थीहरू ।

हेड सरको पिटाई खाने डरले कहिल्यै पढिएन त्यो पाँचौँ पिरियड । बरु हप्तौँ सम्म स्कुल नगई घरमै बहाना बनाएर बसिन्थ्यो । स्कुल गए पनि हाफ टाइम हुनेवित्तिकै साथीभाइहरूको समूह बनाएर टाप कसिन्थ्यो । अनि एकान्त जङ्गलमा गई गुच्चा खेलिन्थ्यो । र, स्कुल छुट्टी हुने समय बुझेर घरतिर लागिन्थ्यो । स्कुलबाटै भागेर घर गए फेरि घरमा बाउ आमाले गाली गर्नुहुन्थ्यो । सधैँ भागेको थाहा पाए घरमा कुटाइ खाइन्थ्यो । कुटाइ नखान अलिकति चलाख बन्नुपर्ने अवस्था थियो । स्कुलमा बसे हेडसरको कुटाई, भागेपछि घरको कुटाइले विद्यार्थीलाई रमाएर बस्ने र सिक्ने वातावरण नै भएन ।

बिहान पनि घरको सबै काम भ्याएर स्कुल जानुपर्थ्यो । घरमा पढ्ने समय कहिले हुँदैनथ्यो । पढ्ने समय नभएपछि कसरी उसले अंग्रजी सिकोस् ? शिक्षकले पुराण वाचन गरेजस्तै गरी पढाउनुहुन्थ्यो । घरमा पढ्ने वातावरण भएकाहरूले त सिक्थे र जान्दथे तर जसको घरमा पढ्ने अवस्था थिएन उनीहरूले भने न सिक्थे न केही जान्दथे । केबल दर्शक स्रोता भएर कक्षामा बसिरहन्थे । अनि उनीहरू नै नजान्नेको वर्गमा परेर गाली र लाठी खाइरहन्थे ।

समुदायमा त्यतिवेला पढेलेखेका र शिक्षित परिवार भनेका ५ प्रतिशत जति मात्रै थिए होलान् । उनीहरूका छोराछोरी भने घरमा पढ्ने र सिक्ने वातावरण भएकाले केही सिकेकै हुन्थे तर ९५ प्रतिशत बालाबालीकाको घरमा सिक्ने पढ्ने अवस्था थिएन । अनि उनीहरू नजान्ने भनेर शारीरिक र मानसिक यातनाकै कारण स्कुल छोड्न बाध्ये हुन्थे ।

एक दिनको कुरो हो । त्यसरी नै स्कुलको टिफिनको घण्टी बज्यो । सबै विद्यार्थी कक्षाकोठाबाट ह्वारह्वार्ती बाहिरिए । हामी पनि साथीहरूको समूह बनाएर नजिकैको खोलाको तलाउमा पौडिन जाने योजना बनायौँ । अनि ४, ५ जनाको समूह साथी बनाएर खोलामा नुहाउन गयौँ । खोलाको तलाउमा पौडी खेल्दा खेल्दै टिफिन टाइम सकिएछ । थाहै भएन । हामी भुलेर तलाउमा नुहाइरहेकै थियौँ । यतिखेरै पिउन सर जोड जोडले कराउँदै हामी पौडी खेलिरहेकै तिर आइरहनु भएको थियो । पिउन सरको आवाज सुनेर सबै जना डरायौँ ।

अब कहाँ लुक्ने ? देखेपछि सरले कुटिहाल्नु हुन्छ भन्ने त्रासले एक छिन श्वास नफेरी तलाउभित्रै बस्ने भन्यौँ । तलाउभित्र कति नै बस्न सकिन्थ्यो र ! तलाउमा डुबुल्की मार्दा एउटा साथीको त ढुंगोेमा लागेर टाउको नै फुटेछ । ठुलै घाउ लागेछ । पिउन सरको डरले हतारमा तलाउभित्र पस्न खोज्दा टाउकोमा गम्भीर चोट लाग्यो । एकापट्टि साथीको टाउकोमा चोट लाग्यो अर्को पट्टि पिउन सर नजिकै आइरहनु भएको छ । ठुलै समस्यामा पर्‍यौँ हामी । पिउन सर आइपुग्नु भो अनि हामीलाई देखेर ठुला ठुला आँखा घुमाउँदै भन्नु भो ‘तिमी हरुकै कारण मैले हेडसरको गाली खानुपर्छ के भएको हो ?’

टाउकोमा चोट लागेको साथी बेहोस भएछ रगत धेरै बगीरहेको थियो । त्यहाँबाट पिउन सरले गाली गर्दै साथीलाई बोकेर स्कुलमा पुर्‍याउनु । हामी पनि पछिपछि डराइ डराइ स्कुलसम्म आइपुग्यौँ । हेड सरले गाली गर्नुहुन्छ भन्ने डरले सीमा नै नाघिसकेको थियो । तर, केही गर्नुभएन । त्यो दिन कुटाइ खानबाट बचियो । बेहोस भएको साथीलाई होसमा आइसकेपछि अस्पताल लग्ने कुरा भइरहेको थियो । अस्पताल कम्तीमा डेढ घण्टाको पैदल बाटो हिँडेर मात्रै पुगिन्थ्यो । यातायातको सुविधा थिएन बोकर लानु पर्थ्यो । घरको मान्छेलाई खबर गरेर अस्पताल लगियो ।

प्राथमिक स्वास्थ्य केन्द्रमा एक हप्ता बसेर साथी अलिक ठिक भएर घर फर्किए । तर, टाउकोमा गम्भीर चोट लागेर मानसिक समस्या देखिएछ । पछि उनी स्कुल नै आएनन् । उपचारको लागि उनलाई भारत लगिएछ ।

कहिले स्कुलको बिदा होला भन्ने लागि रहन्थ्यो । दशैँ तिहार छिट्टै आइदिए हुन्थ्यो । भन्ने लाग्थ्यो । शनिवार आएपछि मन आनन्दित हुन्थ्यो । जहिले स्कुलको घृणा मात्रै मनमा जाग्थ्यो । सायद स्कुलमा गरिने उक्त व्यवहारले नै होला पढ्नु नपरे हुन्थ्यो जस्तो लाग्थ्यो ।

केही समयपछि विद्यालयमा एक जना गुरुआमा (शिक्षिका) आउनुभयो । गुरुआमा आउनुभएकोमा त हामी खुसी नै थियौँ तर, उनको व्यवहार पनि हेड सरको जस्तै हो की भन्ने डर पनि भयो । नभन्दै गुरुआमा पनि उस्तै पर्नु भएछ । पढाएको कुरा नजान्ने को त कानै उखेलम्ला झैँ गरी गालामा चड्कन हान्न थाल्नु भो । हेडसर र पिउन सरले त लठ्ठीले कुट्नु हुन्थ्यो । तर, गुरुआमाले त महीनौं दिनसम्म कान पाक्ने गरी तानेर ज्वरो नै आउने बनाउनुहुन्थ्यो । राम्रोसँग माया गरेर पढाउने शिक्षक शिक्षिका त त्यतिबेला कहाँ पाउनु ? नपिटिदिने भए पनि राम्रै हुन्थ्यो सिक्न ले सिक्थे नसिक्नेले बिस्तारै सिक्थे नि !

बालबालिकाको मानसिक, शारीरिक, सृजनात्मक असरको बारेमा शिक्षक शिक्षिकाहरूलाई नै ज्ञान थिएन त्यो बेला । उनीहरूले पनि पिटाई खाएरै पढेका थिए, अनि बालबालिकालाई कसरी नपिटी पढाउनु ? सम्भव नै थिएन । त्यो बेला पाठ्यपुस्तक र पाठ्य सामग्री भनेकै लठ्ठी थियो ।

बालबालिकाका अन्तर्निहित क्षमता प्रस्फुटन हुने थलोमा भएका प्रतिभालाई दबाएर राख्नुपर्ने अवस्था थियो त्यहाँ । अनि कसरी बनुन् त्यहाँको बालबालिका शिक्षित, डाक्टर, पाइलट, इन्जिनियर, गायक, लेखक, कलाकार, नृत्यकार ? उति बेलै स्कुल छोड्नुपर्ने अवस्था आएपछि कसरी समाज शिक्षित बन्थ्यो ?

अहिले उक्त सरकारी विद्यालय बालमैत्री भइसकेको छ । सो कुरा सुन्दा खुसी लागेर आउँछ । त्यहाँ कुनै शिक्षकले बालबालिकालाई नराम्रो व्यवहार गरेमा समुदायका मानिसहरूले विद्यालयबाटै निकालिदिन्छन् रे ! कति परिवर्तन भए छ समाजका मानिसहरूको सोचाइ । सायद त्यति बेला नै यस्तो सोच अभिभावकहरूमा हुन्थ्यो भने कुनै पनि बालबालिकाले विषमै कुटाई सहन नसकेर विद्यालय छोड्नुपर्ने अवस्था आउने थिएन ।

अहिले प्रत्येक कक्षामा खेलकै माध्यमबाट पढाइ हुने गर्दछ । कति सहज र रमाइलो प्राथमिक शिक्षा छ अहिले । त्यो बालापनको असर मेरो मस्तिष्कमा अहिले पनि ताजै छ । बाल मस्तिष्कमै परेको असरले होला अहिले पनि हेड सर भनेपछि मेरो मन डराइरहन्छ ।

प्रतिकृयाहरु
Loading...