सिरी ए फुटबल : एसी मिलान रोमासँग बराबरीमा रोकियो

काठमाडौं । इटालियन सिरी ए फुटबल अन्तर्गतको खेलमा शीर्ष स्थानमा रहेको एसी मिलान बराबरीमा रोकिएको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा मिलान रोमासँग ३-३ को बराबरीमा रोकिएको हो ।

पहिलो हाफ १–१ को बराबरी खेलेका मिलान र रोमाले दोस्रो हाफमा दुईदुई गोल गरेका हुन् । घरेलु मैदानमा एसी मिलानका लागि खेलको दोस्रो मिनेटमै जाल्टन इब्राहिमोविचले गोल गरेका थिए । १२ मिनेटसम्म खेलमा अग्रता लिएको मिलानको पोस्टमा खेलको १४ औँ मिनेटमा इडेन डिजेकोले रोमाका लागि बराबरी गोल फर्काए । पहिलो हाफको १५ मिनेटसम्म खेल रोचक बन्यो । त्यसपछि पहिलो हाफमा कुनै गोल हुन सकेन ।

दोस्रो हाफको सुरुवात अर्थात् खेलको ४७ औँ मिनेटमा एसी मिलानलाई एलेक्सिज सिलेमेकर्सको गोलले अग्रता दिलायो । तर, यो अग्रता ७१ मिनेटसम्म मात्र टिक्न सक्यो । रोमाले पाएको पेनाल्टीलाई जोर्डन वेरेतोउतले गोल गर्दै खेल २–२ को बराबरीमा पुर्याए ।

एसी मिलानले ७९ औं मिनेटमा पाएको पेनाल्टीलाई इब्राहिमोविचले गोलमा परिणत गर्दा खेल ३–२ गोल अन्तरमा पुग्यो । तर यो अग्रतालाई पाँच मिनेट भन्दा धेरै टिक्न नदिएको रोमका लागि खेलको ८४ औं मिनेटमा माराश कुम्बुलाले गोल गर्दै खेल ३–३ को बराबरीमा पुर्याए । –एजेन्सी

प्रतिक्रिया