हाम्रो अभियानलाई प्रहरीको साथ 

विराटनगर । हाम्रो अभियान टिमले सडक पेटीमा जीवन व्यतीत गर्ने मानिसहरूलाई कपडा वितरण गरेका छन् । विजया दशमीको पूर्व सन्ध्यामा सडक पेटीमा जीवन व्यतीत गर्ने सय बढी मानिसहरूलाई आइतबार हाम्रो अभियान टिमले कपडा वितरण गरेको हो ।

हाम्रो  अभियान टिमलाई प्रहरी(साझेदारी कार्यक्रम अन्तर्गत वडा प्रहरी कार्यालय (क) ले पनि साथ दिएको छ ।

चाडपर्व नजिकिँदै गर्दाको समयमा दैनिक ज्याला मजदुरी गरेर सडकमा नै जीवन बिताइरहेका मानिसहरू एउटै फोहोर लुगा लगाएर हप्ता देखि महिना दिनसम्म बसेको दृश्यले उनीहरूलाई कपडा वितरण गर्ने धारणा मनमा आएको हाम्रो अभियानका कृशल आलेले बताए ।

उनले भने, ‘म दैनिक बजार निस्किएको बेला मैले बजारमा दुई खालको मान्छे भेटे, एक खालको महँगो लुगा किनेर लगाउने अर्को एउटै लुगा महिना दिनसम्म निरन्तर लगाउने, त्यहीँ दृश्यले मलाई केही गरौँ भन्ने मनमा लाग्यो, यसमा वडा प्रहरी कार्यालयका अधिकृत द्वय  डिएसपी दीपक कार्की, प्रहरी निरीक्षक मिलन थापा सरको टिमले साथ दिनुभएको छ ।’

हाम्रो  अभियान टिमलाई कपडा वितरणमा साथ हौसला दिनका लागि वडा प्रहरी कार्यालय (क) का प्रहरी निरीक्षक मिलन थापा आएका थिए ।

लुगा पाएसँगै  खुसी भएको मन 
३६ वर्षीय अर्जुन गिरी सिटी सफारी चालक थिए । लकडाउन अगाडि उनको दैनिकी  चलिरहेको थियो । विस्व महामारीकोरुपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ को रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लकडाउनको घोषणा गरेसँगै उनको काममा पनि लक लाग्यो ।

उनको चुलो बल्न छोड्यो ।  सम्पत्तिको नाममा भएको एउटा सिटिसफारी बेच्न बाध्य भएको उनी सुनाउँछन् । केही महिना त सफारी बेचेको पैसाले खानसम्म त पुग्यो तर घर भाडा तिर्न नसकेर घरधनीले घर निकाला गरेसँगै ७ महिनादेखि सडकको बास बस्न बाध्यता भएको उनी बताउँछन् ।

‘लकडाउन भरी निःशुल्क खाना खुवाउने अभियानले हाम्रो भोको पेट भरेको थियो, चाडपर्वको समय उहाँहरूले नै लुगा दिँदा मन खुसी भएको छ’, उनले भने ।

सधैँ प्रहरीले गाली मात्रै गर्छन् भन्ने सोचेका अर्जुनलाई हाम्रो अभियानको टिमसँग प्रहरी नै आएर लुगा वितरण गर्दा प्रहरीको पनि मन हुने रहेछ जस्तै लागेको उनी बताउँछन् ।

उनी थप्छन्, ‘यो भन्दा अगाडि खाना बाँड्ने दाइहरूसँग प्रहरी आएर हामीलाई खाना बाँड्नुभएको थियो, हाम्रो लागि यो अप्ठ्यारो परिस्थितिमा खाना बाँड्ने, कपडा बाँड्ने उहाँहरू भगवान् नै हुनुभएको छ।’

प्रतिक्रिया