आज धेरै रामहरुले विभीषणको कुरा सुन्दैनन्

  • जीवन्ती पौडेल

शिक्षा, सम्पत्ती र शक्तिका स्रोत ‘हामी महिला’हरु आज २१औं शताब्दीमा पनि घर-परिवार, समाज र राष्ट्रको दृष्टिकोणमा दोस्रो दर्जाको मान्छेको रुपमा स्थापित छौं । मृगले आफ्नो नाभिमा मगमगाइरहेको सुगन्ध पहिचान गर्न नसकेर भौतारीए झैं हामी आफू भित्रको शक्ति पहिचान गर्न नसकी भौतारिएका छौं ।

महिला अधिकारको पक्षमा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा ठूला ठूला आन्दोलनहरु सम्पन्न गरेका छौं, आन्दोलनबाट थुप्रै उपलब्धि भयो भन्न बाध्य भएका छौं । मेरो मनमा सधैं उब्जिने प्रश्न भने जस्ताको त्यस्तै छ । हामीले गरेको आन्दोलनले महिलाहरुमा रहेको अन्तरनिहित शक्ति पहिचान गर्न सफल भएको छ त ? पुस्तौं पुस्तादेखि हरेक वर्ष मनाउंदै आएको बडा दशैं, लक्ष्मी पूजा र सरस्वती पूजाको ‘सिम्बोलिक’ सन्देशबारे गहिराइमा पुगेर छलफल गरिएको छ त ? निर्दोष प्राणीको हत्या गरेर शक्ति स्वरुपा महाकाली प्रसन्न हुन्छिन् भन्ने अन्धबिश्वास स्थापित भएको संस्कारविरुद्ध खै आन्दोलन ? महाकालीको मन्दिरमा कालो बोको ढालेर मनोकामना पूर्ण हुन्छ भन्ने मान्यता र अन्धबिश्वासविरुद्ध आन्दोलनको ध्यान किन जान सकेको छैन ?

नवदुर्गा माताले त समाजमा आतङ्क मच्चाएको अन्यायी, अत्याचारी, बेभिचारी, दुराचारी, बलात्कारी र भ्रस्टाचारी राक्षसको बध गरेको कथा (चण्डी पाठ) सुनाउने हाम्रा समाजका विद्वान पण्डितले के बुझे र शिक्षा दिएछन् कुन्नी ? यहाँसम्म आइपुग्दा समाज जुन बाटोमा अगाडि बढेको छ । त्यसको जरा पत्ता लाउन (विश्लेषण गर्न) पर्दैन र ? अस्तित्वको सृजनामा हरेक प्राणी स्वतन्त्र छन् तर मान्छेलालाई मात्रै किन यति धेरै नियम-कानुन र सुबिधा चाइएको होला ?

आफ्नो वास्तविकताबारे सोच्नेसम्म फुर्सद छैन मान्छेलाई,  अर्काको देखासीखी, आरिष, ईर्ष्या, अहङ्कार जस्ता गुणहरुले अन्ध-धुन्धमा जीवन गुजारिरहेका छौं हामी । काम (कामना), क्रोध (रिस) लोभ (सङ्ग्रह गर्ने), मोह (छोड्न नचाहाने), ईर्ष्या (मेरो मात्रै होस), द्वेस (बदलाको भावना) र अहङ्कार (पद,प्रतिस्ठा, सम्पत्ती, सर्टिफिकेट, बंश, भुगोल इत्यादिको आधारमा आफुलाइ विशिष्ट ठान्ने) प्रवृतिबाट ग्रसित छौं । विकास र सुबिधाले हाम्रो मन अपवित्र र अशान्त बन्दै गएको छ । एकछिन पनि शान्त मनले आपलूलाई नियाल्न एकछिनै फुर्सद छैन कठै बिचरा हामी २१औ शताब्दीका मान्छे । पशुजत्तीको स्वतन्त्र र मर्यादित पनि छैनौं ।

समाजमा घट्ने हरेक घटनाहरु कस्तो मनले विश्लेषण गर्ने गरेका छौं त हामीले ? कुनै अपराधी व्यक्तिको अपराधिक मानसिकता कसरी बन्छ ? हामी त्यता कहिल्यै सोच्ने गरेका छैनौै । हाम्रो पैरवीले अरु धेरै अपराधी जन्माउन मद्दत पुगेको त छैन ? अधिकार प्राप्तिको आन्दोलन पनि डोनर मुखी र जागिर मुखी हुनाले बत्ताएर गएको महशुस भएको छ मलाइ त ।

यहाँ नीर आईपुग्दा रामायाणको कथा सम्झन मन लाग्छ मलालाई, रामले रावणको अन्त्य गर्नैका निम्ति जन्म लिएका हुन्छन् रामको बाणबाट मात्रै रावणको अन्त्य हुने निश्चित थियो तर, रावणको प्राण नाभिमा छ भन्ने थाहा नपाउँदासम्म जति बाण हाने पनि रावणलाई छुन सकेको थिएन । जब रावणको भाई बिभिषणले भने पछि रामले रावणको नाभिमा बाण छोड्छन् र रावण ढलेको कथा सुन्दै आएका हाहीले यो सङ्केत महशुस पनि गरेका छैनौं । आज धेरै रामहरुले बिभिषणको कुरा सुन्दैनन् ।

आज बलात्कारीलाई फाँसीको सजाय हुनु पर्छ भन्ने माग सुनिन्छ तर, म फाँसीको सजायको पक्षमा छैन । किनभने हरेक अपराधी रुपान्तरण हुन सक्छ भन्ने मेरो मान्यता छ जसरी भगवान गौतम बुद्धको सानिध्यमा अङ्गुलिमाल जस्तो अपराधी डाकु रुपान्तरण भएको कथाबाट आशाबादी छु । मान्छेको जीवन शैली सहज, सरल, होसपूर्ण र प्रेमल बन्छ ऊ कदापी हिंस्रक बन्न सक्दैन । जब मान्छेको मन षटॠपुबाट मुक्त हुन्छ ऊ कदापी हिंस्रक बन्दैन । विगतमा आफूले अज्ञानता बस गरेको अपराधप्रति ग्लानी गर्दै हाम्रो आन्दोलनको सारथी बन्न सक्छ । यो नै असली जित हुनेछ हाम्रो, यो नै आन्दोलनको उपलब्धी हुनेछ, यो नै समाज रुपान्तरणको सहि प्रमाण हुनेछ ।

एउटा अपराधी, हिंस्रक, दुराचारी, बलात्कारी, भ्रस्टाचारीको आचरणमा परिवर्तन ल्याउन उसको आफ्नो कर्मप्रति ग्लानी गर्दै महशुस गराउन र मन शान्त गराउन अति जरुरी छ । अपराधको बदला अपराध हैन अपराधिको मन रुपान्तरण गराउन सकिने शिक्षा र चेतनामुलक काम गरौं । भगवान गौतम बुद्ध जन्मेको देशका नागरिक हु भनी गर्व गर्न गौतम बुद्धको सन्देश हामी आफ्नो जीवन शैलिमा अनुशरण गरौं । यो विजया दशमीमा आफूभित्र रहेका षटॠपुहरुको बलि चडाऊ ।

विजया दशमी २०७७ को हार्दिक मङ्गलमय सुभकामना । यो दशैंबाट कोरोना भाइरस पराजित होस् भन्ने सुभेच्छा जाहेर गर्दछु । भाइरस सङ्क्रमितहरुको सीघ्रस्वास्थ्य लाभको मङ्गलमय सुभकामना ।

  • कृयाशिल महिला नेतृ पौडेल किसान महासंघकी सचिवालय सदस्यसमेत हुन्
प्रतिक्रिया