मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

व्याकुल माइलालाई दसैंमा खाएको वाईवाई चाउचाउ अझैं नाक लागेको छ

'दसैं स्मरण’

सानो छँदा दसैं साँच्चै नै दसैंं जस्तै लाग्थ्यो । त्यतिबेला दसैंं भन्ना साथ एउटा ठूलै हर्ष हुन्थ्यो । मसँग बाल्यकालका धेरै दसैंहरुको स्मरण छन् ।

मलाई अहिले याद आउने संस्करण भनेको एउटा छ । म अलिक सानै हुँदो हुँ । कुरा चाहिँ ठ्याक्कै याद नभए पनि ४०/४१ सालतिरको जस्तो लाग्छ, अहिले सम्झिँदा ।

हाम्रो लेकमा पनि घरजग्गा थियो । बेशीमा घरजग्गा थियो । अनि हामी साधारणतयाः दुवैतिर नै बस्थ्यौं । त्यो सालको दसैंमा चाहिँ मलाई खै किन हो, माथिल्लो घरबाट तलको घर द दसैं मनाउनको लागि जानै मन लागेन । घरमा सुँगुर ढालिएको थियो । तरपनि मलाई मासुभन्दा चाउचाउ नै ठीक लागेर मैले चाउचाउ खाएरै दसैं मनाउने भएँ ।

तल्लो घरमा होटल-पसलहरु थियो । त्यसो हुँदा घरमा चाउचाउहरु भइरहन्थे । अनि मैले त्यो सालको दसैं चाहिँ चाउचाउकै साथमा मनाउने निधो गरेँ ।

बच्चा न थिएँ, दसैंमा जे पनि मीठै खानुपर्छ, निकै नै खानुपर्छ भन्ने लागेर मैले त्यसबेला दुईवटा वाईवाई चाउचाउ खाने सोच बनाएँ । अरुबेला सामान्यतयाः एउटा मात्रै खाने मैले दसैंनै सम्झेर दुईवटा खाने भएँ । 

दसैं हो के एउटा खानु है भनेर दुईवटा नै चाउचाउ खाएँ । खानेबेलामा त खाएँ, पछि पो केही गाह्रो होलाजस्तो भो । यतिकै धेरै गाह्रो नै त भएन । तर, पनि नाक भने बेस्सरी नै लाग्यो ।

यहाँसम्म कि, वाईवाई चाउचाउ अझैसम्म पनि मलाई रुच्दैन । यद्यपि, कहिलेकाहीँ घरमा खुवाउँछन् । खाउँखाउँ कहिल्यै हुन्न । खुवाइहालेको खण्डमा अलिकति खान्छु, त्यसबेला पनि त्यही बाल्यकालको एक सालको दसैं कै याद आउँछ ।

अहिले पनि मलाई वाईवाई चाउचाउ देख्दा त्यही दसैंको याद आउँछ, त्यही नाक लागेको स्मरण आउँछ । मैले त्यसरी दसैं हो के एउटा खानु है भनेर दुईवटा वाईवाई चाउचाउ खाँदा अहिलेसम्म नाक लागेको भान हुन्छ । बाल्यकालको दसैं मध्येमा धेरै यादै आउने दसैं चाहिँ यही नै हो ।

यसको अलावा अन्य धेरै संस्करणहरु छन् । गाउँमै हुर्केको हुनाले मैले दसैंको बेला खुबै माछा पनि मार्थेँ । उसै त दसैंमा राईको घरमा सुँगुर ढालिएको हुन्छ, माछा कसलाई खुवाउन मारें सम्झना छैन ।

म सम्झन्छु-म सानै थिएँ । दुधकोशी नदीमा एक सालको दसैंमा खुबै माछा मारेँ । नदीमा माछाका कुरहरु बनाइएका थिए । मैले कुरमा जाल हानेर टन्न माछाहरु मारेको थिएँ । त्यसभन्दा अगाडि कहिल्यै जाल नहानेको मैले त्यसबेला एकैचोटी ४ वटा ठूल्ठूला माछा मारेको थिएँ । मारेको याद चाहिँ अझै छ तर, खाएको याद भने छैन ।

बाल्यकालका दसैंको धेरै यादहरु छन् मसँग । जे भए पनि पहिलेको दुःखका कुरा सम्झेर अहिले खुशी नै लाग्दोरहेछ ।

  • प्रस्तुतिः धनबल राई
प्रतिकृयाहरु
Loading...