सिमानाका सिल भएसँगै विराटनगरलाई फाइदा

विराटनगर । लकडाउन र निषेधाज्ञाले थलिएको विराटगरको बजार विस्तारै उठ्दै छ । लामो समयको लकडाउन र निषेधाज्ञाका कारण थलिएको बजार चाडपर्वको पूर्व सन्ध्यामा चलायमान भएको हो ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सिमा नाका बन्द गरिएकाले भारतको जोगबनी केन्द्रिकृत हुने नेपाली ग्राहकहरु दैनिक किनमेलका लागि विराटनगर नै रोज्न थालेका छन् ।

अन्य समयको भन्दा सिमानाका सिल भएसँगै व्यापार बढेको जलजला चोकका कपडा व्यापारी प्रदीप अग्रवाल बताउँछन् ।
कपडा खरिद गर्न आउने अधिकांश लोकल ग्राहकहरु नै रहेको उनको भनाई छ । ‘कोरोना त्रासका कारण जिल्ला बाहिर विर्तामोड, ईलाम, धरान लगायतबाट आउने ग्राहकहरु यो साल किनमेलका लागि आएका छैनन् तर नाका सिल हुँदा लोकल ग्राहकहरुको संख्या भने वृद्धि भएको छ ।’ अग्रवाल भन्छन् ।

भारतीय सिमानाका सिल हुँदा राजस्व वृद्धि भएकाले नेपाल सरकारलाई पनि फाईदा भएको छ ।

पुरानो गुद्री बजारका खाद्यान्न व्यापारी कृष्णा गुप्ता पछिल्लो समय चिया, नास्ता खाने फुर्सद पनि नपाएको अनुभव सुनाउँछन् ।
अन्य समय एक बोरा चिनी विक्रि गर्न हप्ता दिनको समय कुर्नुपर्नेमा पछिल्लो समय एक दिनमा नै विक्रि भएको छ । ‘ठुला चाडपर्व भित्रिदै गर्दा अधिकांश नेपाली भारतको जोगबनी किनमेल गर्न जाने गर्थे, नाका सिल भएपछि लोकल ग्राहक पनि विराटनगर बजारमा नै केन्द्रिकृत भएका छन् ।’ उनी भन्छन् ।

उनी सँधैको भन्दा सय प्रतिशतले ग्राहक वृद्धि भएको दावि गर्छन । एक वर्षमा हुने व्यापार आजभोली हप्ता दिनमा व्यापार हुने गरेको उनको कथन छ । लकडाउनका कारण आम सर्वसाधारणको जिउने शैली पनि फरक भएको उनको भनाई छ । ‘सँधै महिना दिन पुग्ने सामान खरिद गर्नेले मिलाएर किन्ने गरेका छन्, थोरै समान भएपनि आफ्नै लोकल बजारबाट खरिद गर्ने गरेका छन् ।’ उनले भने ।

सरकारले सँधैका लागि भारतीय सिमानाका बन्द गरिदिए व्यापारीलाई मात्र हैन सरकारको पनि राजस्व बृद्धि हुने व्यापारीहरुको भनाई छ ।

सस्तोका लागि जोगबनी

विराटनगर ९ का सरस्वती दाहाल दैनिक घरायसी सामान खरिद गर्न भारतको जोगबनी नै पुग्ने गरेको बताउँछिन् ।
चाडपर्वमा होस या अन्य समय उनको सामान खरिद गर्ने मुख्य गन्तव्य नै जोगबनी थियो । तर, लकडाउनका कारण सिमानाका बन्द हुँदा यसपटक उनले स्थानीय बजारमै किनमेल गरिन् । दाल, चिनी, तेल, साबुन लगायत दैनिक उपभोग्य वस्तुहरु भारतीय बजारमा खरिद गर्दा केही हदसम्म सस्तो हुने उनको भनाई छ ।

‘स्थानीय बजारले केहि सहुलियत दिए हामीलाई जोबनी जाने रहर छैन । आफ्नो पैसा आफ्नै देशमा खर्च होस् भन्ने चाहना हाम्रो पनि छ ।’ दाहालको भनाई छ ।

व्यापारमा वृद्धि

भारतीय सिमासिल हुँदा नेपाली बजार चलायमान हुनेरहेछ भन्ने शिक्षा लकडाउनले सिकाएको विराट व्यापार संघका अध्यक्ष सुजन थापा बताउँछन् । भारतीय सिमा क्षेत्र बन्द हुँदा करमा पनि वृद्धि भएको उनको भनाई छ ।

‘चाडपर्व होस या अन्य समय भारतीय बजारमा नेपाली ग्राहकको आर्कषण बढ्दा विराटनगरको व्यापार शुन्य हुन्थ्यो तर, पछिल्लो समयको लकडाउले नाका बन्द हुँदा यहाँको व्यापार वृद्धि भएको छ ।’ उनले भने ।

लामो समयको लकडाउनले अर्थतन्त्र थलिए पनि सिमाबन्द हुँदा स्वदेशी बस्तु उत्पादन र खपत बढेको उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेको भनाई छ ।

स्वदेशको पैसा स्वदेशमै चलायमान हुँदा स्थानीय व्यापारीहरु पनि खुशी छन् । ‘थलिएका उद्योग, कलकारखाना विस्तारै चलायमान हुँदैछन् तर, पछिल्लो समय संक्रमण अत्याधिक बढेकाले फेरी समस्या पो आउने हो की, फेरी कामदारहरु त्रासले न आउने पो हुन की भन्ने चुनौती चाहिँ छ ।’ घिमिरे भन्छन् ।

प्रतिक्रिया