कसरी मनाउदै छन् उद्योगी र व्यवसायीहरुले यस पटकको दसैं ?

काठमाडौं । कोरोनाको कारण करिब ७ महिना बन्द भएको उद्योग क्षेत्र विस्तारै सञ्चालनको क्रममा छ । धेरै उद्योगहरु अझै सञ्चालनमा आइसकेको अवस्था छैन । यहि बेला नेपालीहरुको महान चाडपर्व दसैं तिहार पनि भित्रिएको छ ।

अघिल्ला वर्ष जस्तो यस वर्ष दसैंको उत्सव कतै छैन । उद्योगी, व्यवसायीहरुमा पनि उत्साह छैन । अर्थतन्त्र ठप्प हुँदा केही उद्योगीहरुलाई दसैं कसरी मनाउने चिन्ता पनि छ । अरु बेला दसैं तिहारमा आफ्ना कर्मचारी तथा परिवारसँग बसेर रमाईलो गर्ने उद्योगीहरु यसपटक केही नगर्ने सोचमा छन् ।

कसले कसरी मनाउँदैछन् दसैं

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले यस वर्षको दसैं काठमाडौं नै बसेर मनाउने भएका छन् । उनी कोरोना संक्रमण भई निको भएकाले आराम गरेर काठमाडौं नै दसैं मनाउने सोचमा छन् । उनी अघिल्लो वर्षको दसैंमा कार्यक्रमको सिलसिलामा विदेशमा थिए ।

उनी भन्छन, ‘यस वर्ष अन्य वर्ष जस्तो अवस्था छैन । सुरक्षित भएर आफु बसेकै स्थानमा दसैं मनाउने हो । अवस्था सामान्य भएपछि आउने वर्षहरुमा भव्य तरिकाले दसैं मनाउला ।’

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा उद्योगी पशुपती मुरारकाले आफुहरुको दसैं त्यस्तो खास नहुने बताए । ‘हामीले दसैंलाई त्यति धेरै उत्सवका रुपमा मनाउने गरेका छैनौ । यस वर्षको दसैंमा अन्नपूर्ण ट्रेकिङ जाने तयारीमा छौं । सानो टिम ट्रेकिङ जान तयार भएको छ । त्यहाँ जादा सुरक्षित र फेर्स पनि होइन्छ,’ मुरारकाले भने ।

नेपाल उद्योग परिसंघका अध्यक्षका सरिसकुमार मोरले यस वर्षको दसैं कोरोनाको कारणले सामान्य नै हुने बताए । कोरोनाको कारणले भेटघाट, साथीभाईसँग रमाइलो गर्ने अवस्था नरहेकोले सकेसम्म सामाजिक दुरी कायम गरेर चाडपर्व मनाउने उनको योजना छ ।

‘हामी कोरोनासँग जोगिनु पर्छ । यसवर्ष विगत वर्षको जस्तो भेटघाट गरेर दसैं मनाउने अवस्था छैन । त्यसैले घरमा नै बसेर दसैं मनाउने हो ।’ मोरले भने ।

नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेशकाजी श्रेष्ठले यस वर्षको दसैं सरकारले भने जस्तै घरभित्र नै बसेर मनाउने बताए । कोरोनाका कारण विगतका वर्षको जस्तो भेटघाट र रमाइलोमा दसै मनाउन सक्ने अवस्था छैन ।

‘सरकारले भनेको छ घर भित्रै बस्नु भनेर, घरभित्रै बसेर दसैं मनाउने हो । फोन तथा अन्य माध्यमहरुमा पनि कुरा नगरी आनन्दले घरमा नै बस्ने हो,’ श्रेष्ठले भने ।

नेपाल चेम्बर अर्फ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल पनि घरमै परिवारसँग बसेर दसैं सेलिब्रेट गर्ने तरखरमा छन् । ‘कोरोना संक्रमितको संख्या दिनप्रतिदिन वृद्धि हुँदै गएकोले यस वर्ष दसैं मनाउन बाहिर जान सकिँदैन । आफ्नो ज्यानको सुरक्षा आफैंले गर्ने हो । यस वर्षको दसैं घरमा नै बसेर मनाउदा राम्रो हुने छ ।’ मल्लले भने ।

प्रतिक्रिया