प्रहरीलाई ठक्कर दिएर भाग्न खोज्ने लागुऔषध कारोबारी पक्राउ

धरान । धरानमा प्रहरीलाई ठक्कर दिएर भाग्न खोज्ने एक लागुऔषध  कारोबारी पक्राउ परेका छन् । चतरा सडक खण्डमा पर्ने धरान १७ स्थित सर्दु खोला चेकपोइन्टमा प्रहरीलाई ठक्कर दिएर भाग्न खोज्ने लागुऔषध कारोबारी मोटरसाइकलसहित पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा कोशी गाउँपालिका ६ श्रीपुर जब्दीका १९ वर्षीय देवराम कुमार यादव रहेका छन् । उनको साथबाट ठुलो मात्रामा लागुऔषध पनि बरामद भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार हिजो साँझ ७ बजेर ४० मिनेटमा सर्दु खोला पुलमा चेकपोइन्ट राखिएको थियो । त्यसक्रममा लु ६० प २३४२ नम्बरको मोटरसाइकलले चेक जाँचको क्रममा प्रहरी जवान कृष्णकुमार तामाङलाई ठक्कर दिएर घाइते बनाएको थियो । भाग्न खोज्दा मोटरसाइकल अनियन्त्रित भएर लडेपछि यादव पक्राउ परेका थिए ।

प्रहरीले यादवलाई नियन्त्रणमा लिएर मोटरसाइकल खानतलासी गर्दा लागुऔषध फेला परेको थियो ।

प्रहरीका अनुसार डाइलेक्स डिसि १९ बोतल, स्पास्मो प्रोक्सिभन प्लस १४४० क्याप्सुल बरामद भएको छ भने नगद १ हजार ३ सय पनि भेटिएको छ ।

यादव लागुऔषध कारोबारमा यसअघि पनि पक्राउ परेर जेल गइसकेका व्यक्ति हुन् । उनी पेशेवार कारोबारी भएकोले पुनःजेलबाट छुटे पछि कारोबारमा संलग्न भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको पनि डिएसपी बस्नेतले बताए ।

उनलाई पक्राउ गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया