गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

गोरखा । गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौंको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ९ः१० बजेको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौं पठाएका हुन् ।

फूलपातीको डोली बा २ झ ३२२१ नम्बरको सरकारी गाडीमा राखेर हनुमान ढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए । गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पुर्याइएपछि आज साँझ हर्ष बढाइँका साथ हनुमान ढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन रहँदै आएको छ ।

कार्यालयका नायब सुब्बा चूडानिधि तिवारीले हुनमान ढोका दरबारमा फुलपाती लिएर गएको कार्यालय प्रमुख भुसालले जानकारी दिए । “गत वर्ष भक्तजनहरूको ठूलो भीडभाड लाग्ने गथ्र्योे”, उनले भने, “यो पटक त्यो हुन सकेन, सामान्यरूपमा विधि पुर्याएर फुलपाती पठाएका छौँ ।”

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौंको हनुमानढोका दरबारबाट राजकाज शुरु गरेदेखि बर्सेनि बडादशैँको सातौँ दिन गोरखा दरबारको दशैँघरबाट फूलपातीसहितको डोली काठमाडौंको हनुमानढोका दरबार पुर्याएर भित्र्याउने प्रचलन रहँदै आएको छ । गोरखा दरबारको दशैँघरबाट सतिपिपलस्थित फूलपाती चौतारासम्म फूलपातीको डोली दरबारका सुसारेहरुले बोकेर ल्याई त्यहाँबाट हनुमान ढोका दरबार पठाइएको हो ।

कोरोना भाइरसको संक्रमणको जोखिमका कारण भक्तजनहरुको सहभागिता बिना नै यो पटक विधिपूर्वक दरबारस्थित दशैँघरबाट सतिपिपल चौतारासम्म ल्याएर गोरखाबाट फूलपातीको बिदाई गरिएको उनले बताए । सतिपिपलसम्म बोकेर ल्याइएको फुलपाती राखेर हनुमान ढोकामा फुलपाती पठाइएको हो । गोरखा दरबारको दशैँघरमा पनि आजै साँझ फूलपाती भित्र्याइन्छ । रासस

प्रतिक्रिया