वीपी प्रतिष्ठानको पार्किङबाट मोटरसाइकल चोरी गर्दै गर्दा एक पक्राउ, एक फरार

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पार्किङबाट लामो समयदेखि दुई पाङ्ग्रे सवारी (मोटरसाइकल, सकुटर) चोरी हुने गरेको छ । प्रतिष्ठान हाताभित्रैबाट यसरी चोरी भएका मोटरसाईकलहरु हत्तपत्त भेटिँदैनन्, भेटिइहालेपनि चोरी गर्ने मान्छे फेला पार्न सकिँदैन । तर, आज विहान भने एक व्यक्ति चोरीको मोटरसाइकलसहित पक्राउ परेका छन् ।

उदयपुरको ठोक्सिला घर भई हाल धरान ११ बस्दै आएका हरिप्रसाद निरौला चोरीको मोटरसाइकल सहित रंगेहात पक्राउ परेको प्रतिष्ठानस्थित सेक्युरिटी इञ्चार्ज धनबहादुर राईले बताए ।

उनीसँगै धरान १६ का सुदिप दाहाल भने चाबी ल्याउने वहाना बनाउँदै फरार भएका छन् । विहान पौने ५ बजेतिर घटेको उक्त घटना प्रतिष्ठानको गाइनो र पेडियाट्रिक पार्किङमा भएको हो । उनीहरुले को २५ प ३५५६ नम्बरको मोटरसाइकल चोरी गरेर लैजादै थिए ।

उनीहरुले पार्किङबाट मोटरसाइकल डोर्याउदै लगेको देखेपछि सुरक्षागार्डहरुले शंका लागेर सोधपुछ गर्दा तेल सकिएको जवाफ दिएका थिए । त्यसपछि सेक्युरिटीले केरकार गर्दा मोटरसाइकल चोरी गरेको खुलेको हो । ‘गाइनो पार्किङबाट मोटरसाइकल डोर्याउदै लगेको देखेपछि सोधखोज गर्यौं, अफिस ल्याएर केरकार गर्दा चोरेको थाहा भयो ।’ इञ्चार्ज राईले भने ।

चोरी गरेको मोटरसाइकल धरान १७ का लक्ष्मण खनालको खुलेको छ । सेक्युरिटीले पक्राउ परेकाको पनि मोटरसाइकलसहित २ वटा मोटरसाइकललाई प्रहरीलाई जिम्मा लगाएको छ । पक्राउ परेकाको साथबाट भारतको वर्कसपको भिजिटिङ कार्ड भेटिएकोले उनीहरुले चोरीको मोटरसाइकल भारतमा बेच्ने गरेको हुनसक्ने आशंका छ ।

प्रतिक्रिया