यूरोपा लिगमा आर्सनल र एसी मिलानले गरे विजयी सुरुवात

काठमाडौं । यूरोपा लिगमा इंग्लिस क्लब आर्सनलले विजयी सुरुवात गरेको छ । गएराति भएको समूह चरणको पहिलो खेलमा रापिड विएनलाई २-१ ले पराजित गर्दै आर्सनलले विजयी सुरुवात गरेको हो ।

खेलको सुरुमा रापिडको मैदानमा एक गोलले पछि परेको आर्सनलले नतिजा उल्टाएको हो । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफमा पहिलो गोल रापिडका ट्याक्सीअरचिस फोन्टसले खेलको ५१ मिनेटमा गरेका थिए ।

घरेलु मैदानमा टिमलाई सुरुवाती अग्रता दिलाए पनि खेलको ७० औं मिनेटमा आर्सनलका लागि गोल गर्दै डेभिड लुइजले खेल बराबरीमा फर्काए । खेल बराबरी भएको चार मिनेटमै आर्सनलका पिएरे एम्रिक औबामियाङले गोल गर्दै २-१ को जित निश्चित गरेका थिए । पहिलो जितसँगै आर्सनलले तीन अंक जोडेको छ ।गएराति भएको समूह एचको पहिलो खेलमा सेल्टिकलाई ३-१ ले पराजित गर्दै एसी मिलानले समेत विजयी सुरुवात गरेको छ । आवे मैदानमा भएको खेलमा मिलानका लागि क्रुनिक, डियाज र हाउगले गोल गरे । सेल्टिकका लागि सान्वना गोल एलयूनोउसीले गरेका थिए ।

एसी मिलानले पहिलो हाफमै दुई गोल गरेको थियो । क्रुनिकले खेलको १४ मिनेटमा टिमलाई अग्रता दिलाएका थिए भने खेलको ४२ मिनेटमा डियाजले गोल गर्दै पहिलो हाफमा खेल २-० को अन्तरमा पुर्याएका थिए । ​

सेल्टिकका एलयूनोउसीले खेलको ७६ औं मिनेटमा गोल गर्दै खेला २-१ अन्तरमा झारेका थिए । तर खेलको इन्जुरी समयमा एसी मिलानका हाउगले अर्को गोल गर्दै टिमलाई ३-१ को जित दिलाए ।

यही समूहको अर्को खेलमा युसुफ याजीसिको ह्याट्रिकमा फ्रेन्च क्लब लिलले १० खेलाडीमा समेटिएको चेक रिपब्लिक क्लब स्पार्टा प्रागमाथि ४-१ को सहज जित हात पारेको छ ।

यस्तै समूह ‘ए’ मा इटालियन क्लब रोमाले स्वीस क्लब योङ ब्वाइजमाथि २-१ को जित दर्ता गरेको छ । रोमाले योङ ब्वाइजमाथि उसकै मैदानमा २-१ को पूनरागमन जित हात पारेको हो । यही समूहको अर्को खेलमा रोमानियाको क्लब सिएफआर क्लजले बुल्गेरियन क्लब पीएफसी सिएसकेए सोफियामाथि २-० को जित निकालेको छ ।

प्रतिक्रिया