वीपी प्रतिष्ठानमा काेराेनाकाे उपचार गर्दा ७ देखि ६० हजार धराैटी, शुल्क कति ?

धरान । सरकारले पिसिआर परीक्षण र कोरोना उपचारको लागि शुल्क लाग्ने भनेसँगै धरानस्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा पिसिआर परीक्षण तथा कोभिड संक्रमित उपचारको शुल्क निर्धारण गरेको छ ।

प्रतिष्ठानले यहि आइतबार देखि लागु हुने गरी पिसिआर परीक्षणको नयाँ शुल्क २२ सय निर्धारण गरेको जनाएको छ । भने, काेराेना उपचारका लागि ७ देखि ६० हजारसम्म धराैटी समेत लिने भएकाे छ ।

प्रतिष्ठानका अस्पताल निर्देशक प्रा. डा. गौरीशंकर साहले सूचना जारी गर्दै कोभिड परीक्षण तथा उपचारको लागि भएका नयाँ निर्णयहरूको सार्वजनिक गरेका हुन् ।

प्रतिष्ठानले यसअघि पिसिआर परीक्षण गर्दा २ हजार लिँदै आएकोमा त्यसमा २ सय बृद्धि गरेको छ । प्रतिष्ठानले आर्थिक रूपले विपन्न, अशक्त र असहाय नागरीक, असहाय एकल महिला तथा अपाङ्गता भएका नागरीक, ज्येष्ठ नागरीकहरूलाई लक्षण देखिएमा सिफारिस र परिचय पत्रको आधारमा निःशुल्क पिसिआर परीक्षण गर्ने भनेपनि अन्यको हकमा शुल्क लाग्ने जनाएको छ ।

प्रतिष्ठानले कोरोना संक्रमणको उपचारमा धरौटी समेत राख्ने निर्णय गरेको छ । जस अनुसार कुनै लक्षण नभएकोले ७ हजार, हल्का लक्षण भएकोले १२ हजार, मध्यम लक्षण भएकोले ३५ हजार तथा गम्भिर लक्षण भएकोले ६० हजार रकम उपचार सेवा अगावै धरौटी राख्नुपर्ने भनिएको छ ।

प्रतिष्ठानले लक्षण नभएकोलाई २ हजार, हल्का लक्षण भएकालाई ३५ सय, मध्यम लक्षण भएकालाई ७५ सय र गम्भिर लक्षण भएकालाई १५ हजार दैनिक शुल्क लिने डा. शाहद्वारा जारी सुचनामा उल्लेख छ ।

लक्षण नभएमा वा हराएमा संक्रमित विरामीहरूलाई १४ दिनमा डिर्स्चाज गर्ने गरीएकोमा अब पछिल्लो ३ दिनमा लक्षण नदेखिएमा १० दिनमा डिर्स्चाज गर्ने निर्णय गरिएको छ । डिस्चार्ज पश्चात विरामीले एक साता होम आइसोलेसन अनिवार्य बस्नुपर्ने उल्लेख छ ।

स्वास्थ तथा जनसंख्या मन्त्रालय मातहतको स्वास्थ आपतकालिन तथा विपत व्यवस्थापन इकाई, काठमाडौंबाट निर्णय भई कार्यान्वयन गर्नका लागि आएको निर्देशन अनुसार नयाँ निर्णय भएको अस्पताल निर्देशक डा. शाहले जनाएका छन् ।

प्रतिष्ठानमा प्रदेश १ को लेवल ३ कोरोना हस्पिटल रहेको छ । कोरोना हस्पिटल सञ्चालनमा उपकुलपति गैरजिम्मेवार बनेको तथा कोरोना हस्पिटलको भेन्टिलेटर तथा त्यसमा जडान गरिएका युपिएसहरु विग्रनाले कोरोना संक्रमितको राम्रो उपचार भइरहेको छैन ।

प्रतिक्रिया