नक्कली नोटसहित एक जना पक्राउ

चितवन । चितवन प्रहरीले मकवानपुरको राक्सिराङस्थित एक घरको मकै खलियाबाट लाखौं रुपैयाँ नक्कली नोट बरामद गरेको छ । राक्सिराङ गाउँपालिका–८ हलिजेस्थित जितबहादुर लोप्चनले खलियामा लुकाइराखेको १ हजार रुपैयाँका ३०२ थान नक्कली नोट बरामद गरिएको चितवनका प्रहरी प्रमुख एसपी नान्तिराज गुरुङले जानकारी दिए ।

चितवनको राप्ती नगरपालिका–५ भण्डारामा सामान किन्ने क्रममा नक्कली पैसा दिई मानिस फरार भएको सूचनाको आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । प्रहरी निरीक्षक राजिव गिरीको कमाण्डमा खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा सोही वडाको चौकीडाँडाबाट १२ थान नक्कली नोटसहित लोप्चनलाई नियन्त्रणमा लिएको थियो ।

ती व्यक्तिले भण्डारास्थित युनिक होटलमा खाजा खाएबापत बुझाएको १ हजार रुपैयाँ र बर्तौला किराना पसलबाट खाद्यान्न सामान किनेबापत बुझाएको ६ हजार रुपैयाँ बरामद गरेपछि प्रहरीले उनी नक्कली नोटको कारोबारी रहेको आशंका गरेको थियो ।

पूर्व–पश्चिम राजमार्गबाट साढे ४ घण्टा गाडी र डेढ घण्टा पदैलयात्रा पश्चात प्रहरीटोली ती व्यक्तिको घर हलिजे पुगेको थियो ।

खानतलासीका क्रममा घर भित्र मकैको खलियामा प्लास्टिकले बेरी लुकाइएको अवस्थामा तीन लाख २ हजार रुपैयाँ नक्कली नोटका बिटा भेटिएको डिएसपी सूर्यबाहदुर थापाले बताए ।

लोप्चनलाई मुलुकी अपराध संहीता २०७४ को परिच्छेद २२ अन्तर्गत मुद्रा सम्बन्धी कसुरमा थप अनुसन्धान प्रकृया अघि बढाइएको थापाले बताए । अनुसन्धानका क्रममा नक्कली नोटको कारोबारमा संलग्न अन्य दुई जनाको पहिचान भएको प्रहरीले जनाएको छ ।

थापाले उनीहरुलाई खोजतलास भइरहेको बताए । प्रहरीले उनीहरुमार्फत नक्कली नोटको मूख्य गिरोह पत्ता लगाउने लक्ष्य लिएको एसपी गुरुङले बताए । उक्त कसुर प्रमाणित भए संलग्न व्यक्तिलाई १० वर्ष कैद र १ लाख जरिबानासम्म हुन सक्छ ।

प्रतिक्रिया