जसले कोभिडसँगै जनताको मन जितिन्

अस्ट्रेलिया । न्युजिल्यान्डमा गत शनिबार भएको आमनिर्वाचनमा २४ वर्षपछि लेबर पार्टीले पुन: बहुमत हासिल गर्‍यो । न्युजिल्यान्डकी प्रधानमन्त्री तथा लेबर नेत्री जसिन्डा आर्डर्नले तीन वर्षका लागि बहुमतको सरकार बनाउने पक्का भएको छ ।

विभिन्न कारणले विश्वभर नै लोकप्रिय प्रधानमन्त्री आर्डर्न पछिल्लो चुनावको ऐतिहासिक नतिजासँगै विश्व राजनीतिमा चर्चाको शिखरमा छिन् । करिब ३ वर्ष अगाडि न्युजिल्यान्डमा समेत सामान्य मानिएकी आर्डर्नले ३ वर्षको अन्तरालमै विश्व राजनीतिमा आफ्नो नाम दरिलो बनाइन् । त्यसका साथै लेबर पार्टीको राजनीतिक इतिहासलाई अलग पहिचानसमेत दिन सफल भइन् । निर्वाचनअघि गरिएका सर्वेक्षणका सबै अनुमानलाई उनले गलत सावित गरिदिइन् । निर्वाचनपछि पहिलोपटक सामाजिक सञ्जालमा फोटो राख्दै उनले आफू पुन: काममा फर्कन पाएकामा अत्यन्तै कृतज्ञ भएको बताएकी छन् ।

आर्डर्नले निर्वाचनमा उल्लेख्य सफलता पाउनुका कारण कोभिड–१९ नियन्त्रणमा देखाएको तदारुकता र सफलता, गत वर्षको मार्चमा क्राइस्ट चर्चस्थित एक मस्जिदमा गरिएको आतंकवादी आक्रमणको क्रममा देखाएको नेतृत्व र ह्वाइट आइल्यान्डमा गत डिसेम्बरमा भएको ज्वालामुखी विस्फोटको समयमा देखाएको क्रियाशीलता तथा पीडितलाई पुर्‍याएको योगदान मुख्य ठानिएको छ । तर राजनीतिक विश्लेषकहरूले भने आर्डर्नको आफ्नो चामत्कारिक छवि र नेतृत्व मात्र नभएर विपक्षी दल नेसनलमा देखिएको नेतृत्व परिवर्तनको समस्याले समेत राम्रै भूमिका खेलेको दाबी गरेका छन् ।

प्रारम्भिक नतिजालाई मात्र हेर्ने हो भने अहिलेसम्म आर्डर्नको लेबर पार्टीले संसद्को जम्मा १ सय २० मध्ये ६४ सिट आफ्नो पक्षमा पारिसकेको छ । जसमा बहुमतका लागि मात्र ६१ सिट आवश्यक छ ।

यसपालिको निर्वाचनमा न्युजिल्यान्ड फस्टले त एक सिटसमेत हासिल गर्न सकेन । कम्तीमा ५ प्रतिशत मत ल्याउनुपर्नेमा ३ प्रतिशत पनि नल्याएपछि संसद्बाट उक्त दल बाहिरिएको छ भने ग्रिनले पहिलेको चुनावको तुलनामा दुई सिट बढाएर १० पुर्‍याएको जनाइएको छ । सबैभन्दा धेरै चुनावी पीडा विपक्षी दल नेसनलले बेहोरेको छ । नेसनल जम्मा २७ प्रतिशत मत (३५ सिट) मा खुम्चिएको छ । अघिल्लो चुनावमा उसले ४४ प्रतिशत मत ल्याएको थियो । लेबरले ४९ प्रतिशत मतदाताको मन जितेको छ ।

निर्वाचनमा बहुमत आए पनि प्रारम्भिक नतिजा आएकै दिन प्रधानमन्त्री आर्डर्नले आफूले सम्पूर्ण न्युजिल्यान्डवासीका लागि काम गर्ने बताइसकेकी छन् । कोभिड–१९ नियन्त्रणका लागि उनले चालेका विभिन्न कदमबारे जानकारी गराउने क्रममा पनि उनले सम्पूर्ण न्युजिल्यान्डवासी एक टिम भएको बताएकी थिइन् । जसले न्युजिल्यान्डवासीलाई सरकारी कदमको खुलेर समर्थन गर्न मात्र नभई आफैं पनि यसको साझेदार भएको भावना विकास गरिदिएको थियो । भाइरस नियन्त्रणमा अहिले पनि उनको नेतृत्व विश्वमै उत्कृष्टमध्येको मानिन्छ । न्युजिल्यान्डमा कोभिड–१९ संक्रमितको संख्या २ हजारभन्दा कम छ भने २५ जनाले ज्यान गुमाएका छन् ।

जितपश्चात् उनले आफ्नो दलले प्राप्त गरेको जित अपेक्षाभन्दा पनि हौसला भएको प्रतिक्रिया दिएकी थिइन् । अघिल्लो कार्यकालमा सहकार्य गरेको ग्रिन पार्टीसँग पुन: सहकार्य गर्ने वा नगर्ने विषय उनका लागि चुनौतीपूर्ण हुन सक्ने सञ्चारमाध्यमले जनाएका छन् । आर्डर्न आफू प्रधानमन्त्री भएकै समयमा बच्चा जन्माएरसमेत चर्चामा आएकी थिइन् भने उनको निडर र स्पष्ट बोल्ने शैलीको समेत विश्वभर चर्चा गरिन्छ ।

करिब डेढ दशकदेखि न्युजिल्यान्डको राजनीतिबारे जानकार डा. ओबी खनाल आर्डर्नले जित्नुमा कोभिड–१९ नियन्त्रणमा उनले गरेको काम पहिलो नम्बरमा आए पनि विपक्षी दलमा देखिएको राजनीतिक अस्थिरता प्रमुख कारक मान्छन् । ‘नेसनल पार्टीले एक वर्षको अन्तरालमा मात्र ३ जना नेता परिवर्तन गर्‍यो । जसले पार्टी राजनीतिमा अस्थिरता देखिएको थियो भने पार्टी कार्यकर्तामा समेत केही हदसम्म नैराश्यता आएको थियो,’ उनको भनाइ छ । आर्डर्नले जित्नुमा उनको जनताप्रतिको सम्बन्ध, काम गर्ने शैली, चामत्कारिक र सबैसँग घुलमिल हुन सक्ने गुण पनि कारक भएको खनालको भनाइ छ । ‘आर्डर्नले आफ्नो कार्यकालमा भोग्नुपरेका ठूला विपत्ति तथा असह्य घटनालाई समेत सहज रूपमा समाधान गरेर सफल नेता भएको उदाहरण प्रस्तुत गरेकी हुन्,’ खनालले कान्तिपुरसँग भने ।

आर्डर्नले अघिल्लो चुनावमा आफैले गरेको केही वाचा पूरा नगरेको भए पनि उनको कार्यशैलीका कारण ती वाचा ओझेलमा परेको उनको भनाइ छ । ‘उनले आफ्नो कार्यकालमा एक लाख घर निर्माण गर्ने योजना पूरा गर्न सकेकी थिइनन् भने अन्य केही महत्त्वपूर्ण योजनासमेत पूरा गर्न सकिनन् । तर पनि उनले जति गरिन् त्यो नै सम्पूर्ण जनताको विश्वास जित्न काफी भयो,’ खनालले भने ।

न्युजिल्यान्डस्थित नेपालीहरूको संगठन न्युजिल्यान्ड नेप्लिज सोसाइटीका अध्यक्ष दिनेश खड्कासमेत आर्डर्नको जितमा कुनै आश्चर्य मान्नुपर्ने कारण देख्दैनन् । ‘जुनसुकै पार्टीको नेता भए पनि देश र जनताको हितमा काम गर्ने हो भने निर्वाचनमा जित हासिल गर्न सक्छन् भन्ने उनी उदाहरण हुन्,’ खड्का भन्छन् ।

निर्वाचनताका आर्डर्नको पक्षमा खुलेरै लागेका खड्का कठिन अवस्थामा देश र जनताका लागि कसले काम गर्न सक्छ भन्ने कुरालाई मतदाताले निकै ध्यान दिने बताउँछन् । ‘हुन सक्छ न्युजिल्यान्ड र नेपालको राजनीतिक संस्कार र नेतृत्वको तुलना गर्न नमिल्ला तर हाम्रा नेताहरूले थोरै मात्र सिको गर्ने हो भने नेपालमा पनि पक्कै सकारात्मक परिवर्तन आउँछ,’ उनी भन्छन्, ‘जनताको दु:खमा देशको नेतृत्वले साथ दिन सक्नुपर्छ, त्यसो भए जनताले पत्याउँछन् । न्युजिल्यान्डमा भएको पनि त्यही हो ।’ –ईकान्तिपुरबाट

प्रतिक्रिया