‘हामी गरिबको लागि के दसैं के तिहार ?’

  • सुजता निङ्लेकू

विराटनगर । मध्य दिउसो । असोज महिना भए पनि तालु तातिने तराईको प्रचण्ड गर्मी । रुखको छहारीमा आशाले भरिएका चाउरीएको अनुहार दिएर विश्राम गरिरहेका विराटनगर ८ का ५७ वर्षिय राम राझि ठेला चलाउँछन् ।

राझिको ६ महिना अगाडी जसोतसो जीविकोपार्जन चलिरहेको थियो । जब विश्व कोरोना भाइरसले आक्रान्त भयो उनको दैनिकी असहज बन्दै गयो । लकडाउन अवधिभरी एक छाकले दिनरात कटाएको उनी सुनाउँछन् । केहि समय पछि लकडाउन, निषेधाज्ञा खुल्यो केहि सहज त भयो तर पहिलेको जस्तो कमाई हुन सकेको छैन ।

अहिले उनी बिहान ८ बजेदेखि घरबाट ठेला लिएर हाटखोला चोकमा निस्कन्छन् । घरबाट निस्कने क्षणमा मनभरी आशा, परिवारको भोको पेट भर्ने सपना लिएर निस्कन्छन् । तर, आजभोली ति सपना, आशाहरुलाई हाटखोला चोकमा नै छोडेर रित्तो ठेलाको साथमा घर फर्कनुपर्ने बाध्यता उनीसँग छ ।

राम राझि

उनी यो भन्दा अगाडी रिक्सा चालक थिए । जब बजारमा रिटिसफारी, टयाम्पो भित्रियो रिक्सा विस्थापित हुँदै गयो । रिक्सा विस्थापित भएसँगै उनको पनि पेसा परिवर्तन भएको हो । ‘जब बजारमा सिटिसफारी टयाम्पो आयो, त्यहाँ देखि मान्छेहरुले रिक्सा चढ्न छोडे । खान लाउनै नभएपछि रिक्सा छोडेर ठेला कुदाउन थालेको त्यो पनि कोरोनाले खोस्यो ।’ उनी सुनाउँछन् ।
उनी थप्छन्,‘गरिबलाई केहि गर्दा पनि समयले साथ दिँदो रैनछ, भोकले पेटमा मुसा कुदिरहेको छ ।’

लकडाउनभन्दा अगाडी ठेला चलाएर जसोतसो साँझ बिहानको छाक टार्न पुगेपनि अहिले २ किलो चामल किन्ने पैसा पनि उनीसँग हुँदैन । श्रीमती, छोराछोरी र उनीगरी ७ जनाको परिवार छ उनको ।

कमाई नभएको बेला वर्षदिनमा आउने चाडपर्व पनि खल्लो लाग्दो रहेछ । ‘हुँदा खाने नहुँदा १० रुपैंयाको भुजामा छाक टार्ने हामी गरिबको लागि के दसैं के तिहार ? अरुले चाडपर्व मनाएको हेर्ने चित्त बुझाउने’ उनी निराश सुनिन्छन् ।

रामकै जस्तो ठेला चलाएर गुजारा गर्ने कटहरीका ३७ वर्षिय सञ्जय साहलाई पनि चाडवाड आउनु र नआउनुको रौनक छैन । ‘गरिबको घरमा पैसा हुँदा सँधै दसैं हुन्छ, एक छाक मिठो मसिनो खान पाए किन चाडपर्व कुर्नुपर्यो ? यो पालिको दसैंको मतलवै लागेको छैन ।’ उनी भन्छन् ।

ठेलाको कमाईबाट नै उनले परिवारको जिम्मेवारी बहन गरिरहेका छन् । उनको ५ जनाको परिवार छ, ठेलाको कमाईमा नै सबै आश्रित छन् । सोचे जस्तो कमाई नहुँदा दैनिक ज्यालादारी र श्रमिकहरुको दैनिकी चलाउन सकस भएको छ । उनी भन्छन्,‘लकडाउन अगाडी त जसोतसो दिनको ४/५ सय कमाई हुन्थ्यो, अहिले त २ सय पनि गाह्रो छ । खै कसरी परिवार पाल्नु ? कसरी चाडपर्व मनाउनु ?’ यो वर्ष उनको चाडपर्व कमाई नभएकाले सँधैको वर्षभन्दा खल्लो हुन्छ ।

अरुले लगाएको, खाएको देखेर आफ्ना छोराछोरीले नयाँ लुगा, मिठो खानेकुरा माग्दा कसरी टार्ने उनलाई चिन्ता छ । ‘पेट भर्न धौधौ भएको बेला उनीहरुलाई कसरी नयाँ लुगा किनिदिनु ?’ साह आफैंलाई प्रश्न गर्छन् ।

उनलाई दुःखले कहिल्यै नछोड्दा कहिलेकाँही देशै छोडेर अर्काको देशमा पसिना बेच्ने ईच्छा नलागेको पनि होईन । ‘गरिबको त सपना देख्ने अधिकार पनि रहेनछ, विदेश जान पैसा नै चाहिनेरहेछ, आफुसँग सूको पैसा छैन ।’ उनले भने ।

दशकौंदेखि आफैं तरकारी खेती गर्दै तरकारी बिक्रि गरेर घरगृहस्त चलाउँदै आइरहेकी कटहरी ४ की नन्दनी सिंह (नाम परिवर्तन) यो सालको दसैं, तिहार सामान्य तरिकाले मनाउने योजनामा छिन् । उनी र श्रीमान दशकौंदेखि कृषि पेसामा छन् । ‘कोरोनाले गर्दा लगाएको तरकारी बालीमा धेरै घाटा बेहोर्नुपरेको छ, आर्थिक मन्दि छ पहिलेको जस्तो खासै रौकन छैन यो वर्षको चाँड पर्व सामान्य नै हुन्छ ।’

गत वर्ष दसैं आउनु महिना दिन अगाडी नै गाँउघरमा चहलपहल बढ्थ्यो । यो वर्ष पहिलेको जस्तो माहोल नै छैन । सबैतिर कोरोना संक्रमणको त्रास छ । केटाकेटी बुढाबुढीहरु घरभित्र छन् । काम गर्नेपर्ने बाध्यता भएका श्रमिक, किसानहरुमात्र काममा बाहिर निस्कन्छन् ।

कोरोना भाइरसका कारण ६ महिना लामो लकडाउनले कतिपयको आयश्रोत नै डामाडोल भएकाले यो सालको चाडपर्वमा हर्ष उल्लास छैन । सरकारले पनि यो वर्ष आफ्नो घरभित्रै चाडवाड मनाउन आग्रह गरेकाले आफन्त, छरछिमेकी भेला भएर चाडवाड मनाउने मनस्थितिमा कोही छैनन् ।

प्रतिक्रिया