जाडो मौसममा कोरोना अझै फैलिन्छ, पूर्व तयारी बढाऊँ

काठमाडौं । नेपाली सेनाले जाडो महिनामा अझै कोरोना भाइरस (कोभिड-१९)संक्रमण फैलिनसक्ने निष्कर्ष निकालेको छ । मृतक संक्रमितहरुको शव व्यवस्थापन गर्दै आएको सेनाले कोरोना अझै फैलिनसक्ने भन्दै महामारी नियन्त्रण गर्न निरन्तर समन्वयका साथ पूर्वतयारीमा जुट्नुपर्नेमा जोडदिएको हो ।

सैनिक मुख्यालय जङ्गीअड्डामा सञ्चालन भएको तीनदिने ‘पृतनापति समन्वयात्मक बैठक’ को समापन गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले कोभिड-१९ बाट ठण्डीयाममा आउन सक्ने जोखिमको पूर्वाअनुमानअनुसार परिपक्व योजना बनाएर समन्वयका साथ काम गर्न निर्देशन दिए ।

महामारीबाट फौज र तिनका परिवारलाई सुरक्षित राख्नका लागि स्वास्थ्य सुरक्षामा विशेष ध्यान पु-याउन सल्लाह दिँदै प्रधानसेनापतिले कोभिड-१९ को संक्रमण भइहालेमा उचित उपचारको व्यवस्था मिलाउन र हौसला कायम राख्न पनि निर्देशन दिए । उनले भने, ‘सेनाको कार्यशैलीमा आएको सकारात्मक परिवर्तनले सङ्गठनलाई पद्धति र प्रणालीमा आधारित तुल्याउन थप बल पु-याएको छ ।’

बैठकमा जङ्गीअड्डाका मातहतका महानिर्देशनालय, निर्देशनालय, विभाग र पृतनाले आआफ्ना कार्यप्रगति, सुरक्षाको वर्तमान वस्तुस्थिति र कोभिड-१९ बाट सिर्जित सुरक्षा चुनौती एवं आगामी कार्यनीतिका सम्बन्धमा सुझावसहितको प्रस्तुतीकरण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया