महानिरीक्षकज्यू, मेरी छोरी तस्करको हातबाट मर्न दिन्नँ !

कात्तिक २ गते ‘तस्करी रोक्न खोज्दा मारिए असई गोविन्द’ हेडलाइन दिएर अनलाइनखबरमा प्रकाशित समाचारले भावविह्वल बनायो । नेपाल भारत सीमा क्षेत्रमा रहेको कैलालीको धनगढी उपमहानगरपालिका-१२ जुगेडास्थित अस्थायी प्रहरी विटका इन्चार्ज थिए- प्रहरी सहायक निरीक्षक (असई) गाविन्द विक ।

शनिबार साँझ प्रहरी जवान रामबहादुर साउदलाई लिएर बा ५८ प ५२८४ नम्बरको मोटरसाइकलमा गस्तीका लागि निस्किएका उनलाई तस्कर समूहले घाँटी रेटेर हत्या गर्यो । यो समाचारले एउटी आमाको छाती कस्तो भयो होला ? उनको परिवारमा त पहाडै खसेझैँ भयो । जनताको जिउधन सुरक्षाका लागि खटिएका बर्दिधारी नेपाल प्रहरी नै असुरक्षित रहेको हाम्रो नेपालमा हामी सर्वसाधारणले सुरक्षाको के अपेक्षा राख्ने ?

०७१ साउन २१ गते चर्चित डन दिनेश अधिकारी (चरी) प्रहरीसँगको मुठभेदमा मारिँदा, प्रहरीलाई विविध आरोप प्रत्यारोप नलागेको पनि होइन । चरीको मृत्युसँगै शीर्ष नेताहरुको टाउको दुखाइको विषय बनेको थियो । तर, देश जनताको रक्षाका निम्ति अहोरात्र खटिएका प्रहरीको मृत्यु कुकुर मर्यो या बिरालो, कसैको चासोको विषय नै बनेन । न जनता दुखे, न नेताले नमिठो माने । केलब बन्यो, समाचारको हेडलाइन ।

आमाले ९ महिना गर्भमा बोकेर दश धारा दुध चुसाएर देश र जनताको रक्षाका लागि नेपाल आमालाई समर्पण गरेको एउटा सिपाहीले जाबो तस्करको हातबाट मृत्युवरण गर्नुपर्दा एउटी आमाको मन कति रुँदो हो ? समाचार पढिसकेपछि मेरो विगत याद आयो । दश वर्ष (२०५२-२०६३) सम्मको लामो सशस्त्र द्धन्द्धपछि ०६२-०६३ तिर केही साम्य हुँदै थियो । दाजुभाइबीचको द्धन्द्धमा परी आफ्नै छातीमाथि सन्तानको रगतले पोतिएका रगतहरु ओभाइसकेको थिएन ।

आमाले सन्तान गुमाउँदा लागेको चोट, एउटी स्वास्नीले लोग्ने गुमाउँदा लागेको चोट अनि सन्तानले बुबा गुमाउँदा लागेको चोटहरुको घाउ पुरिसकेको थिएन । बारुदको गन्ध हराइसकेको थिएन । ०५८ सालमा संखुवासभाको चिचिलामा सुरक्षाकर्मी र माओवादीबीचको दोहोरो भीडन्तमा पड्किएको बमबारुदको आवाजले सदरमुकाम खाँदबारीलाई नै त्रसित बनाएको थियो । ती नै भीडन्तमा पड्किएका गोली र बारुदको आवाजले त्रास र भयको घेराबन्दी तोड्न सकेको थिएन ।

त्यो समय नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालाई जीवनसाथीको रुपमा स्वीकार्नु एउटी नारीका लागि पूरै जिन्दगी देश जनताका लागि समर्पण गरेझैँ हुन्थ्यो । सशस्त्र द्धन्द्धको समय एउटी सिपाहीकी श्रीमती लोग्नेको दीर्घजीवन र शत्रु परास्तको प्रार्थना गर्दै सिउँदोमा सिन्दुर, हातमा रातो चुरा, गलामा पोते लगाएर सजिएर बसेको केही क्षणमा श्रीमान्को मृत्युको खबरले विक्षिप्त बनेकी एक वीर सिपाहीको श्रीमती हुनु त्यति चानचुने कुरो थिएन ।

हो, एउटा सिपाही घरपरिवारको जिम्मेवारीमा बैमानी भएपनि देश र जनताका लागि इमान्दारी हुन्छन् । ०६२ मा नेपाल प्रहरीको जवानसँग मागी विवाह भयो । त्यो समयको देशको परिस्थितिको बाबजूद पनि मेरो एक योद्धा, सिपाहीसँग विवाह भयो ।

मलाई उनी पल्टन नफर्किन्जेल म विधुवा हुन्छु भन्दा पनि छोरीले बाउको अनुहार हेर्न पाउला कि नपाउला भन्ने पिरले जिउ काँप्थ्यो । तर एक मनले लाग्थ्यो, म सिपाहीकी अधाङ्गिनी हुँ मैले मेरो सिन्दुर देश र जनताको रक्षाका लागि सम्र्पण गरेकी हुँ, मेरो गर्भमा हुर्कँदै गरेको बच्चाले पनि जन्मपश्चात् गर्व गर्नेछ ।

उनी यूनिफाइड कमाण्ड (जनपद प्रहरीको मातहत) को रुपमा नेपाली सेनाको ब्यारेक (गुरुबक्स गुल्ममा) रहेर जिम्मेवारीमा खटिएका थिए । विवाह भएको केही महिनामा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीको संयुक्त टोली फिल्ड अप्रेशनमा निस्किनुपर्ने भयो, उनी सात दिनका लागि बिदाईको हात हल्लाउँदै मदेखि ओझेल परे । लामो लस्कर थियो । मलाई अझै त्यो दिनको सम्झना छ, पछाडिको लस्करमा ‘सररर पानी घटटामा मत प्यारी फर्कन्छु, फर्कन्न नाम सार है पेन्सन पट्टामा’ मा बोलको गीत गाउँदै ओझल परेको । त्यो समय मोबाइल थिएन तर ब्यारेकका भाइहरुसँग खबर बुझ्न भने पाइन्थ्यो । खबर ठीक छ भन्नेले मन प्रफुल्लित बनाउँथ्यो । आज खबर केही आएको छैन भन्ने खबरले मनमा भयको राँको दन्काइदिन्थ्यो ।

मलाई उनी पल्टन नफर्किन्जेल म विधुवा हुन्छु भन्दा पनि छोरीले बाउको अनुहार हेर्न पाउला कि नपाउला भन्ने पिरले जिउ काँप्थ्यो । तर एक मनले लाग्थ्यो, म सिपाहीकी अधाङ्गिनी हुँ मैले मेरो सिन्दुर देश र जनताको रक्षाका लागि सम्र्पण गरेकी हुँ, मेरो गर्भमा हुर्कँदै गरेको बच्चाले पनि जन्मपश्चात् गर्व गर्नेछ । यस्तै सोंचाइले ननिदाएका कयौँ रातहरु हुन्छन् एउटी सिपाहीकी स्वास्नीसँग ।

दश वर्षे लामो सशस्त्र द्धन्द्धको आगो निभिनसक्दै मधेसमा चर्किएको चर्को आन्दोलनले फेरी निन्द्रा हरण गरिदियो । फेरी मधेस आन्दोलनले मेरो हुनेवाला बच्चाको बुबा निल्ला भन्ने त्रासले निन्दा हरण हुन्थ्यो ।

एउटी सिपाहीको श्रीमती लोग्नेको पर्खाइमा चिसो भात एक्लै खानुपर्दा मुख सुकाउँदै आन्दोलनकारीहरुको भीड हटाइरहेको दृश्यले घाँटीमा भातका गाँसहरु अड्किएर पानीको सहारा लिनुपथ्र्यो । रातको समय ओछ्यानमासँगै पल्टिरहेको लोग्ने खबरको भरमा गर्भवती श्रीमतीलाई भरे आँउछु ढोका राम्रो लगाएर सुत्नु है भन्दा झिनो आशा देखाएर बिदा माग्दै हिँडेको लोग्ने साँझको भात पकाएर राख्दा पनि आइनपुग्दा पीडाले छटपटिएका कयौं व्यथाहरु छन् । एकैछिन भनेर हिँडेका लोग्ने २÷३ दिनपछि मुख सुकाएर फर्किन्छन्, आज मासु छ सँगै खाउँ है भनेर योजना बनाइराख्दा आज आन्दोलनमा मान्छे पुगेन चाँडै जानुपर्ने भयो भन्दै खबर लिएर आउँथे खबरे ।

आन्दोलनमा एउटा सिपाहीले वीरगती प्राप्त गर्छ, केही समयपछि दिवसका दिन सम्मान पत्र वितरण गर्छन्, उनको विद्युवा श्रीमती, छोराछोरी कसरी बाँचिरहेका छन् सोधीखोजी हुँदैन । श्रीमतीको इच्छा, चाहना अनि गर्भमा हुर्कँदै गरेको बच्चाको भविष्यको चिन्ता भन्दा पनि जिम्मेवारीमा तल्लिन हुन्छन् एउटा सिपाही । कस्तो विडम्बनाको पेशा नेपाल प्रहरीको, पेशाप्रतिको धर्म, जिम्मेवारी, कर्तव्यभन्दा, भन्दै परिवारप्रतिको जिम्मेवार र कर्तव्य नै भुल्नपर्ने । कस्तो समयविहिन पेशा नेपाल प्रहरीको । हाम्रो १२ वर्षसम्मको सहयात्रामा कहिल्यै प्रेमपूर्ण गफ नै नभइ विछोडमा परिणत भयो ।

हो मेरो लोग्ने मप्रति बफादार, इमान्दार नभए पनि आफ्नो कामप्रति र पेसाप्रति जिम्मेवारी र इमान्दार थिए । त्यसैले त म मेरी छोरीलाई एक वीर सिपाही बनाएर देश र जनताको रक्षाका लागि नेपाल आमालाई समर्पण गर्ने निधो गरेकी हुँ । तर एउटा जाबो तस्करको हातबाट मेरो छोरीले देह त्याग्न गर्नुपर्छ भने माफ गर्नुहोस् म मेरी छोरी समर्पण गर्नबाट पछि हट्छु । राजनीतिक आरक्षणमा बाँचेको एउटा डनको मृत्यु हुँदा तहल्का मच्चिने देशमा एउटा इमान्दार प्रहरीले गद्दारको हातबाट देहत्याग गर्नुपर्छ भने प्रहरी महानिरीक्षकज्यू मेरी छोरी तस्करीको हातबाट मर्न दिन्नँ ।

प्रतिक्रिया