प्रहरी हत्या प्रकरण : घटनामा संलग्न ७ अभियुक्त सार्वजनिक

काठमाडौं । धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र प्रहरी जवना रामबहादुर साउदको हत्या प्रकरणमा संलग्न ७ अभियुक्त लाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

घटनामा संलग्नता पुष्टि भएको भन्दै धनगढी–१० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भन्ने सुरेश राना, २५ वर्षीय गब्बर भन्ने राजकुमार राना, २२ वर्षीय राम निवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र २५ वर्षीय राम गोपाल रानालाई सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय, कैलालीले जानकारी दिएको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा १३ जनालाई नियन्त्रणमा लिएको थियो । तीमध्ये ७ जनालाई दोषी ठहर गर्दै सार्वजनिक गरेको हो ।

अभियुक्तले प्रहरी हवल्दार रामबहादुर साउद र असई गोविन्द विकको हत्या गरेको स्वीकारेको थियो । अभियुक्तले दिएको साविती बयानमा उनीहरूले नेपालबाट भारत लैजाँदै गरेको केराउको गाडा नियन्त्रणमा लिएपछि हत्या गरेको स्वीकार गरेका थिए ।

शनिबार गस्तीमा हिँडेका असई विकको हिजो आइतबार बिहान नजिकैको मोहना नदीमा शव फेला परेको थियो । प्रहरी अनुसन्धानका क्रममा घाँटीमा धारिलो हतियार प्रहार गरी उनको हत्या गरिएको खुुलेको थियो ।

नदी पारि भारतीय क्षेत्रबाट अवैधरुपमा मालसामान भित्रिने गरेको छ । अवैध रुपमा सामान भित्र्याउने समूहले विकको हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । मृतक विकको कञ्चनपुर जिल्ला पुनर्वास नगरपालिकाका हुन् ।

विकसँगै गस्तीमा हिँडेका सोही कार्यालयका प्रहरी हवल्दार रामबहादुर साउद भने सम्पर्कविहीन थिए । उनको पनि मंगलबार बिहान प्रहरीले मोहना नदीमा गाडेको अवस्थामा शव फेला पारेको थियो ।

प्रतिक्रिया