थुलुङ राई मातृभाषा शिक्षक नियुक्ति गर्दै थुलुङ दुधकोशी गाउँपालिका

काठमाडौं । सोलुखुम्बुस्थित थुलुङ दुधकोशी गाउँपालिकाले करारमा थुलुङ राई मातृभाषाको शिक्षक नियुक्ति गर्ने भएको छ ।
सो गाउँपालिका अध्यक्ष तथा गाउँपालिका महासंघ प्रदेश नं. १ का कोषाध्यक्ष असिम राईको अध्यक्षतामा गत आइतबार बसेको कार्यपालिकाको बैठकले थुलुङ राई मातृभाषा शिक्षक करारमा नियुक्ति गर्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता तथा ९ नं. वडाध्यक्ष भूपालसिंह राईले जानकारी दिए ।

प्रवक्ता राईका अनुसार आव ०७७/७८ को गाउँसभाबाट थुलुङ राई मातृभाषा शिक्षक नियुक्तिको लागि विनियोजित बजेटबाट शिक्षक करारमा नियुक्ति गरिनेछ । यस्तै बैठकले कक्षा १ देखि ५ सम्मको किरात थुलुङ राई भाषाको पाठ्यक्रम स्वीकृत समेत गरेको छ ।

कक्षा एक र दुईको तयारी पाठ्यपुस्तक। तस्वीरः थुलुङ राई संस्कृति प्रतिष्ठान।

हाल थुलुङ राई संस्कृति प्रतिष्ठानले थुलुङ राई भाषाको कक्षागत किताबहरु तयारी गर्दै आइरहेको छ । विसं २०७५ सालमा साहित्यकार खुक्सङ खम्बु राईको संयोजकत्वमा गठित थुलुङ राई भाषा पाठ्यक्रम विकास समितिले कक्षा १ को पाठ्यपुस्तक सार्वजनिक गरेको थियो भने समिति प्रतिष्ठानमा गाभिएपछि कक्षा २ र ३ को किताब प्रतिष्ठानले तयार गरेको छ ।

कक्षागत किताबहरु। तस्वीरः थुलुङ राई संस्कृति प्रतिष्ठान।

तयारी पाठ्यक्रम तथा पाठ्यपुस्तक सोलुखुम्बु र खोटाङका विभिन्न विद्यालयहरूमा हाल पढाइ भइरहेको छ । ओखलढुङ्गा र भोजपुरमा पनि चाँडै पढाइ शुरु हुने प्रतिष्ठानका अध्यक्ष निर्कुधन थुलुङ राईले जानकारी दिए ।

गाउँपालिकाको यस ऐतिहासिक निर्णयलाई सिङ्गो थुलुङ राई समुदाय र विशेषतः आदिवासी अगुवाहरू तथा सचेत वर्गहरुले तारिफ गरिरहेको प्रतिष्ठानका महासचिव तथा गायक पदम थुलुङले बताए ।

प्रतिक्रिया