ललितपुरमा बालिका अपहरण, एक महिलासहित तीन जना पक्राउ

काठमाडाैं । बालिका अपहरण गरेकाे अभियाेगमा एक महिलासहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा सर्लाही हरिवन नगरपालिका-८ बासटोल घर भइ हरिसिद्दी बस्ने ३० वर्षीय राजु कार्की, काभ्रे नमोबुद्ध नगरपालिका-८ बुझाकोटका २३ वर्षीया सिता परियार र धनुषा धारापानी गाँउपालिका-२ का ४० वर्षीय कृष्ण तोलामी छन् ।

उनीहरूले सोमबार राति साढे ७ बजे महालक्ष्मी नगरपालिका-४ मनकामना चोक बस्ने एक ८ वर्षीया बालिकाको अपहरण गरेका थिए । अनुसन्धानका क्रममा सोमबार राति सवा १० बजे ललितपुर महानगरपालिका-२९ हरिसिद्धीबाट उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये घटनाका मुख्य अभियुक्त कार्की हुन् । उनकै याेजनामा बालिकाकाे अपहरण भएकाे हाे ।

अपहरणमा परेकी बालिका बारा सिम्रौनगढ नगरपालिका-१ घर भई हाल मनकामना चोक बस्ने गुड्डी साहकी छाेरी अनुखा साह हुन् । आफ्नो कोठाबाहिर खेलिरहेको बेलामा साइकल चढेर आएका राजु कार्कीको टोलीले अनुखा साहलाई अपहरण गरेका थिए । त्यसपछि प्रहरीले अपहरणकारीकाे खाेजी गरेकाे थियाे ।

खोजी गर्ने क्रममा प्रहरीले बालिकालाई हरिसिद्धिस्थित सीता परियारको कोठामा बन्धक बनाएर राखेको अवस्थामा फेला पारेको हो । ती बालिकाको सकुशल उद्दार गरेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया