एनएमबी बैंकद्वारा वायोमास पेलेट उत्पादनका लागि १६ करोड बराबरको कर्जा सम्झौता

काठमाडौं । एनएमबी बैंकले वन तथा वातावरणका क्षेत्रका व्यवसायिक व्यक्तिहरूद्धारा प्रवर्द्धन गरिएको बकस रिन्युएबल ईनर्जी प्रा. लि.सँग वायोमास पेलेट उत्पादन गर्नका लागि रु.१६ करोड बराबरको कर्जा सम्झौतामा हस्ताक्षर गरेको छ ।

बकस रिन्युएबल ईनर्जी प्रा. लि.लाई इन्टरनेसनल फाइनान्स कर्पोरेशनद्वारा प्रवद्र्घित नेपालको पहिलो अन्तर्राष्ट्रिय निजी इक्विटी फण्ड बिजनेस अक्सीजन प्राइभेट लिमिटेडले परियोजना विकास गर्नका लागि इक्विटीका रुपमा रु.५ करोड र बकस रिन्युएबल इनर्जी कम्पनिका प्रमोटरहरुद्धारा रु. ५ करोड बराबरको लगानी रहेको छ ।

एनएमबी बैंकले प्रदान गर्ने रु १६ करोड बराबरको कर्जा रकमलाई कम्पनीले बायोमास पेलेट मेसिन खरीद गर्ने कार्यमा र चालू पुँजीमा उपयोग गर्ने छ ।

यस परियोजनाले वन क्षेत्रमा त्यसै खेर गइरहेको र प्रत्येक वर्ष वन डढेलोले खाने वनमारा तथा झाडिको वायोमासलाई पेलेटको रुपमा परिवर्तन गरेर औद्योगिक एवम् घरायसी ऊर्जाको लागि वैकल्पिक इन्धनको उत्पादन गर्ने छ ।

बायोमास पेलेट एक नविकरणीय ऊर्जा हो । यसले परम्परागत ऊर्जा जस्तै पेट्रोलियम पदार्थ, एलपीजी र कोइलाको विकल्प प्रदान गर्नेछ । सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं. ५ मा स्थापना हुने यस आयोजनाले प्रति वर्ष १९,८२४ मेट्रिक टन बराबरको पेलेट उत्पादन गर्ने लक्ष्य राखेको छ । पेलेट उत्पादनका लागि चाहिने कच्चा पदार्थ सागरनाथ वन विकास परियोजनावाट प्राप्त गरिने छ ।

सागरनाथ वन क्षेत्रमा हरेक वर्ष उम्रने वनमारा तथा अन्य झाडिहरु यस उद्योगको लागि कच्चा पदार्थ हुनेछ । वन पैदावर विकास समितिले पेलेट उत्पादनका लागि सागरनाथ वन विकास परियोजनमा रहेका वनमारा तथा झाडि जस्ता वायोमास बकस रिन्यूएवललाई नियमानुसार २० वर्षका लागि उपलव्ध गराउने सम्बन्धी सम्झौता गरिसकेको छ । प्रत्येक वर्ष सागरनाथ वन विकास परियोजनाले यस्ता झाडि तथा पातपतिंगर हटाई वन डढेलो नियन्त्रण गर्ने कार्यको लागि ठूलो रकम खर्च गर्दै आएको छ ।

प्रतिक्रिया