खैरहनीमा एकै दिन दुई वटा वडा कार्यालय उद्घाटन

चितवन । चितवनको खैरहनी नगरपालिकामा दुई वटा वडा कार्यालय भवनको सोमबार उद्घाटन गरिएको छ ।

खैरहनी १ नम्बर र ४ नम्बर वडा कार्यालय भवन उद्घाटन गरिएको हो । दुई ओटै कार्यालयको जिल्ला समन्वय समिती चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटिले मेयर लालमणी चौधरी र उपमेयर सुनिता थपलियाको उपस्थितिमा उद्घाटन गरिएकाे हाे ।

खैरहनी नगरपालिका र जिल्ला समन्वय समितिको सयुक्त लगानिमा भवन निर्माण गरिएको थियो । खैरहनी १ नम्बर वडा कार्यालय निर्माणमा कुल ६७ लाख रुपैयाँ खर्च भएकोमा ४० लाख रुपैयाँ जिससको र बांकी रकम नगरपालिकाले लगानी गरेको खैरहनिका मेयर लालमणी चौधरीले बताए ।

सोही वडाका वडा अध्यक्ष भुमी प्रसाद कंडेलको अध्यक्षतामा उद्घाटन भएको थियो । खैरहनी ४ नम्बर वडा कार्यालय निर्माणमा कुल ९६ लाख खर्च भएको छ । जसमा ५६ लाख नगरपालिका र ४० लाख जिससको रहेको छ । वडा नम्बर ४ को भवन उद्घाटन सोही वडाका अध्यक्ष देव बहादुर बस्नेतको अध्यक्षतामा भएको थियो ।

वडा कार्यालय भवन उद्घाटन गर्दै जिसस प्रमुख कृष्ण कुमार डल्लाकोटिले सिंहदरवारको अधिकार घर घरमा आएको अनुभुती दिलाउने आधार वडा कार्यालय निर्माण रहेको भन्दै यसबाट जनताले सरल र सहज रुपमा सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे । खैरहनीका मेयर लालमणी चौधरीले यसै बर्ष भित्र नगरका सबै वडा कार्यालयको भवन निर्माण हुने बताए ।

खैरहनी ९ को वडा कार्यालय निर्माण अन्तिम चरणमा पुगेको छ भने ८ र ११ को कार्यालय भवन निर्माण काम सुरु भएको छ । अन्य वडा कार्यालयले आफ्नै भवनबाट सेवा दिँदै आएका छन् ।

प्रतिक्रिया