कांग्रेसले भन्यो–‘कोभिडबारेको निर्णय फिर्ता लिनु, महामारीमा काम नगर्ने सरकार किन चाहियो ?’

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरसबाट हुने कोभिड १९ को सन्दर्भमा सरकारले गरेको निर्णय सच्याउन माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार (आज) विज्ञप्ति जारी गर्दै संक्रमितहरुले आफैँले उपचार गर्नुपर्ने भनी सरकारले गरेको निर्णय फिर्ता लिन भनेका हुन् ।

कोरोना महामारीबाट जनतालाई जोगाउन असफल प्रमाणित भइरहेकोे वर्तमान सरकारले परीक्षण र उपचारको दायित्वबाट पन्छिन गरेको निर्णयलाई कांग्रेसले गैह्रजिम्मेवार व्यवहारकार रुपमा लिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा थप भनिएको छ–‘कोरोनाले जनताको आर्थिक जीवनमा परेको असर दृष्टिगत गरेर सबैको दायित्व सम्हाल्ने कर्तव्य सरकारको हो । संक्रामक रोग उपचारको कानूनी व्यवस्था अनुरुप पनि सरकार जिम्मेवारीबाट पन्छिन मिल्दैन । सर्वोच्च अदालतले केही अघि निःशुल्क रूपमा प्रबन्ध मिलाउन दिएको आदेशसम्म सरकारले पालना नगर्नुले जनता, मिडिया, प्रतिपक्ष, अदालत कसैको पनि नसुन्ने सरकार कसको सुन्छ ? भन्ने प्रश्न उब्जिएको छ ।’

यस्तै कांग्रेसले कोभिड अस्पतालको अनिश्चितता, सामुदायिक आइसोलेसनहरु तयार गर्न ढिलाइ, भेन्टिलेटर अभाव, रेमडिसिभरको कालोबजारी, अव्यवस्थित क्वारेन्टाइन र शव ब्यवस्थापनमा सम्म लहडको नीतिले ‘सरकारको बौद्धिक र भौतिक दुवै अस्तित्वमा भयानक प्रश्न चिन्ह’ खडा गरिसकेको पनि उल्लेख गरेको छ ।

यसैगरी कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली आफू सचिन र आफ्नो नेतृत्वलाई सम्हालनसमेत अनुरोध गरेको छ । यसअघि सरकारले कोरोना संक्रमितहरुले आफैँले नै सम्पूर्ण रुपमा खर्च व्यहोर्नु भनी निर्णय गरेको थियो । अहिले उक्त सरकारी निर्णको चौतर्फी आलोचना भाइरहेको छ ।

प्रतिक्रिया