प्यारिसनजिकै शिरछेदन गरेर हत्या गरिएका शिक्षकको समर्थनमा ठूलाे जुलुस

काठमाडौं । एकजना इस्लामिक अतिवादीबाट मारिएका शिक्षक स्यामुअल पटीको समर्थनमा फ्रान्सभरि हजारौँ मानिसहरू जुलुसहरूमा सहभागी भएका छन् ।

आफ्ना विद्यार्थीहरूलाई पैगम्बर मोहमदको कार्टुन देखाएको भन्दै शुक्रवार एकजना चेचेन युवाले पटीको शिरछेद गरेर हत्या गरेका थिए । प्यारिसमा मानिसहरूले फ्रेन्स भाषामा ‘म शिक्षक हुँ’ लेखिएका प्लेकार्ड बोकेका थिए । प्रधानमन्त्री जँ क्यास्टेस्कसँग उनीहरूले ‘हामी फ्रान्स हौँ’ भनेर चिच्याए ।

घटनाक्रम
प्यारिस नजिक रहेको स्कूलछेवैमा स्यामुअल पटीको हत्या गरिएको थियो । त्यसलगत्तै अब्दुल्लख ए नाम गरेका ती व्यक्तिको प्रहरीको गोली प्रहारबाट मृत्यु भएको थियो । उक्त घटनाको अनुसन्धानका क्रममा अहिलेसम्म ११औँ व्यक्ति पक्राउ परे पनि त्यसबारे कुनै जानकारी दिइएको छैन ।

घटनालगत्तै पक्राउ पर्नेमा ती सन्दिग्ध  व्यक्तिका चारजना नजिकका आफन्तसमेत छन् । शनिवार थप पक्राउ गरिएकामा एकजना विद्यार्थीका पिता र फ्रेन्च मिडियाले अतिवादी इस्लामवादी भनेर चिनाएका एकजना धर्मप्रचारकसमेत छन् ।

प्रतिक्रिया
राष्ट्रपति एमान्यूअल माँक्रोले उक्त हमलाले सबै ‘इस्लामिक आतङ्कवादी हमला’को सीमाना पार गरेको र ‘अभिव्यक्ति स्वतन्त्रता पढाएकै कारण ती शिक्षक मारिएको’ बताएका छन् ।

फ्रेन्च प्रधानमन्त्री जँ क्यास्टेक्सले देशभर ठूला जुलुसमा सहभागी मानिसहरूलाई उनकै शब्दमा ‘फ्रान्स नडराएको’ र ‘आफूहरूलाई विभाजित पार्न नदिने’ बताएका छन् । अर्थमन्त्री ब्रुनो ले-मेरले केही इस्लामिक सङ्गठनहरूमा रकम आदानप्रदान हुने व्यवस्थामा थप नियन्त्रण गर्न आफूले अब प्रस्ताव गर्ने बताएका छन् ।

त्रस्त मानिसहरू देशको धर्मनिरपेक्ष मान्यताको समर्थनमा विभिन्न शहरमा भेला भएका छन् । उक्त हत्या त्यस्तोबेला भएको छ, जतिखेर सन् २०१५ मा एउटा व्यङ्ग्य पत्रिका शार्ली एब्डोमा पैगम्बर मोहमदको कार्टुन छापिएको भन्दै भएको एउटा हमलाका आक्रमणकारीमाथिको अदालती सुनुवाइ भइरहेको छ ।

शुक्रवार के भएको थियो?
प्रतिआतङ्कवाद अभियोजनर्ताहरूका अनुसार सन्दिग्ध ती हमलाकारी घटनास्थलबाट झण्डै १०० किलोमिटरमा बस्थे । शुक्रवार मध्याह्न उनी पटीले पढाउने स्कूल पुगेर विद्यार्थीहरूलाई ती शिक्षक चिनाउन आग्रह गरे ।

मस्कोमा जन्मिएका चेचेन मूलका १८ वर्षीय अब्दुल्लख ए को ती शिक्षक र विद्यालयसँग कुनै सम्बन्ध थाहा भएको छैन । उनले ती शिक्षक पटी घर जाने बेलामा पछ्याएका थिए । उनले छुरीले पटीको टाउकोमा प्रहार गरी उनको शिरछेद गरेका थिए ।-बीबीसी

प्रतिक्रिया