प्रतिकिलो रु ५६० मा खसीबोका बिक्री

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रतिकिलो रु ५६० मा खसी तथा बोका बिक्रीवितरण गर्ने भएको छ ।

दाङ र मकवानपुरको मजवानपुरबाट यस वर्षको बडादशैँका लागि पहिलो चोटि खसी तथा बोका काठमाडौँ आइपुगेपछि कम्पनीले मूल्य निर्धारण गरेको हो ।

निर्धारित मूल्यअनुसार प्रतिकिलो खसीबोकामा रु दश छुट दिइने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिए । उनका अनुसार काठमाडौँ आइपुगेका चौपायाको सोमबार बिहान ८ बजेपछि बिक्रीवितरण शुरु हुनेछ ।

प्रतिकिलो रु ५ ५० का दरमा थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट बिक्रीवितरण हुने कम्पनीले जनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयानुसार सरकारी स्वामित्वमा सञ्चालित तीन संस्थानले चाडपर्वलाई लक्ष्य गर्दै सञ्चालन गर्ने सुपथ मूल्यका पसलमा दिइएको छुटस्वरुप खसीबोकामा प्रतिकिलो रु दश छुट दिइएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुुसार पहिलो चरणमा दाङबाट दुई सय र मकवानपुरबाट २०५ गरी ४०५ खसीबोका काठमाडौँ आइपुगेको छ । यस वर्ष कम्पनीले दुई जिल्लाबाट एक हजार खसीबोका ल्याउने तयारी गरेको छ ।

मुस्ताङबाट एक हजार च्याङ्ग्रा ल्याउने तयारी गरेको कम्पनीले गत वर्षको तुलनामा बढी मूल्य भएपछि अन्तिममा नल्याउने निर्णय भएको जनाइएको छ ।

प्रतिक्रिया